
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भए सांसद किनबेचको खेल हुने दावी गरेका छन् ।
सर्वाेच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्धाको अन्तिम सुनुवाई हुनुअघि प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना हुन नहुनेमा जोड दिएका हुन् ।
सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले भने, ‘संसद पुनर्स्थापना भयो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्दछ । नयाँ दल खोज्नुपर्दछ । कुनै पनि दलको बहुमत छैन । अनि प्रधानमन्त्री बन्न सांसद किनबेचको फोहोरी खेल सुरु हुन्छ ।’
प्रधानमन्त्री ओलीले विकास निर्माणमा केन्द्रीत हुनुपर्ने बेलामा सांसद किनबेचमा अल्झिनु नहुने बताए ।
उनले संसद पुनर्स्थापना भए आफूले आन्दोलन गर्छु भनेर नभनेको स्पष्टिकरण दिए ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको आमसभामा उनले संसद पुनर्स्थापना भए आन्दोलन अगाडि बढाउने घोषणा गरेका थिए ।
संसद् पुनर्स्थापना भए आन्दोलन गर्छु मैले भनेको छैन, मैले कसैलाई धम्की दिएको पनि छैन,’ उनले भने, ‘अदालतलाई धम्की दिने बानी छैन, हामी न्यायालयमा विश्वास गर्छौं ।
प्रतिक्रिया