स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले छुट्टै दल दर्ता गर्ने, पार्टीको प्राथमिकतामा किसान

स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले छुट्टै राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।

सरकारले संसद विघटन गरेर निर्वाचनको मिति तोकेपछि मन्त्री त्रिपाठीले नयाँ दल दर्ता गरेर चुनाव लड्ने घोषणा गरेका हुन् ।

यसअघि सूर्य चुनाव चिन्हमा स्वतन्त्र समूह गठन गरेर निर्वाचन लडेका उनले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘फागुनभित्र दल गठन भइसक्छ,’ गृहजिल्ला नवलपरासीमा सोमबार पत्रकारसँग उनले भने ।

उनले तत्कालीन तराईमधेश लोकतान्त्रिक पार्टीका बहुमत नेता आफ्नो पार्टीमा आउने दावी गरे । मन्त्री त्रिपाठी तमलोपाका बरिष्ठ नेता थिए ।

पछि तमलोपालगायत ६ वटा मधेशी दलहरु मिलेर राष्ट्रिय जनता पार्टी राजपा गठन भएको थियो । राजपा र संघीय समाजवादी पार्टी पनि एक भएर अहिले समाजवादी पार्टी बनेको छ ।

उनले नयाँ पार्टीको आधार किसान र साना व्यवसायी हुने बताए । ‘जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । अर्को राजनीतिक आधार भनेको संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्तयसहित मूलरुपमा राजकीय सत्ता र सार्वभौम सत्ता जनतामा निहित हुने मान्यताका साथ दल गठन हुन्छ ’ उनले भने ।

प्रतिक्रिया

TOP