
१३ लाख रुपैयाँको ६ वर्षमा ब्याज कति होला ? बजारमा सबैभन्दा बढी सुनिने ३६ प्रतिशतकै दरले ब्याज लिँदा पनि २८ लाख मात्रै हुन्छ ।
तर मधेशमा ऋणमा लिएको पैसाको हिसाव मिटर ब्याजमा हुन्छ । मिटरब्याज मधेशमा ऋण लिने व्यक्तिहरुका लागि मर्नु र बाच्नु जस्तै बनेको छ ।
यस्तै पीडा भोगिरहेका छन्, पर्साको वीरगन्ज–१२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारी ।
उनले ६ वर्षअघि छोरीको बिहेका लागि आदर्शनगरका मदनमोहन मित्रुकासँग १३ लाख ६० हजार रुपैयाँ ऋण लिएका थिए ।
वैदेशिक रोजगारीबाट घर आएका छोरा मोहमद समीर अन्सारीले बाबुले लिएको ऋण रकम तिर्न खोज्दा मित्रुकाले एक करोड ९० लाख रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ ।
२०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्धक गरिदिएका थिए ।
अन्सारीका अनुसार मित्रुकासँग १३ लाख ६० हजार ऋण लिएकोमा चलनचल्तीमा त्यसको दोब्बर २६ लाख रुपैयाँको दृष्टिबन्धक लिखत पारित गरिएको थियो ।
ऋण चुक्ताका लागि हरहिसाब माग्दा १३ लाख ६० हजारको ब्याज नजोडी ५१ लाख रुपैयाँको जोडिएको छ ।
प्रतिक्रिया