सोमबार, मंसिर २० २०७८

कहिल्यै बन्द नहुने पाँचथरको एउटा सामुदायिक विद्यालय

कहिल्यै बन्द नहुने पाँचथरको एउटा सामुदायिक विद्यालय


Nepal Manch
असोज १७ २०७८, आइतबार

पाँचथर : फिदिम नगरपालिका–४ सालघारीकी तामाङ थरकी एक किशोरीले १४ वर्षमै विवाह गरिन ।

उनी स्थानीय जागृत आधारभुत विद्यालयमा अध्ययनरत थिइन । वडा नम्बर ९ लुम्फाबुङका राई थरका किशोरसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन । छोरो जन्मिएपछि उनी माइतीमै बसिन ।

माइती आएपछि किशोरले आमाछोरालाई नै छाडेर हिड्यो । किशोरी श्रीमान्को घर जान सकिनन् ।

माइतीमै बसेर छोरोलाई हुर्काउँदै गरेकी किशोरीको लमजुङ घर भई पाँचथरमा पुल निर्माणका लागि आएका भुजेल थरका अर्का युवकसँग माया बस्यो ।
उनीहरूले विवाह पनि गरे ।

छोरालाई माइतीमै छोडेर उनी लमजुङ गइन । लमजुङमा पनि अर्को छोरो जन्माइन । श्रीमान्सँग यहाँ पनि सम्बन्ध राम्रो नभएपछि उनी फेरि छोरो च्यापेर माइती आइन ।

उनी पुनः पहिले कै श्रीमानसँग बस्न थाले पनि सम्बन्ध राम्रो हुन सकेन । त्यसपछि माइतीमा दुई छोरालाई अलपत्र छाडेर उनी रोजगारीका लागि पोखरा गइन ।
आर्थिक अवस्था कमजोर भएको उनको माइतीले बालकहरूको लालनपालन गर्न सकेन । अहिले ति बालकहरू स्थानीय जागृति आधारभूत विद्यालयले सञ्चालन गरेको आवासीय विद्यालयको शरणमा छन् ।

राई थरका बालक अहिले १० वर्षका भए भने भुजेल थरका सात वर्षका छन् । उनीहरूले आफ्नो बाबु देख्न समेत पाएका छैनन् ।

सात वर्षकी पार्वती राई (नाम परिर्वतन) जागृति विद्यालयको आवासमै बसेर कक्षा दुईमा पढ्दैछिन । उनी तेह्रथुमको आठराईमा जन्मेकी हुन् । तर उनकी आमाले दोस्रो विवाह गरेपछि उनी फिदिम–९ लुम्फाबुङ आइन् । उनी आमासँगै झट्केलो बाबुको घर पुगिन ।

तर, केही वर्षमै उनकी आमाले दोस्रो श्रीमानलाई पनि छोडेर अर्को विवाह गरेपछि उनी अलपत्र परिन । उनी अहिले विद्यालयको आवासमा छिन् । जागृति आविका प्रधानाध्यापक डिल्लीराम लुइटेलका अनुसार विद्यालयको सेवा क्षेत्र फिदिम–कुम्मायकको सीमा सिवा दोभानमा पार्वतीलाई भेटेर आवासमा ल्याएर राखिएको हो ।

विद्यालयको आवासमा उनीहरू जस्तै २५ जना बालबालिका आश्रित छन् । यहाँ आश्रित बालबालिकाका अभिभावकहरूलाई उनीहरूका बारेमा कहिल्यै सोधिखोजी पनि गर्दैनन् । जसका कारण यस्ता बेसाहार बालबालिकाको साहारा बनेका छन् विद्यालयका शिक्षक र सहयोगी कर्मचारीहरू ।

‘धन्न विद्यालयले ०७२ सालदेखि आवासीय व्यवस्था गरेको छ र उनीहरूले अक्षर चिन्न पाएका छन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङ भन्छन् ।

सामुदायिक विद्यालयमा आवास

फिदिम नगरपालिका–४ सालघारीस्थित यो विद्यालय कहिल्यै बन्द हुँदैन । आवास सुविधा समेत भएले विद्यालय वर्षैभरि खुला रहन्छ । सधैँजसो विद्यालय खुल्ने भएपछि आसपासमा पनि सधैँ चहलपहल हुन्छ । प्रधानाध्यापक र शिक्षकहरू पनि प्रायः विद्यालयमै भेटिन्छन् । आवासमा बसेका बाहेकका विद्यार्थी पनि विद्यालयमा आइरहन्छन् ।

आवासमा नबसेका विद्यार्थी मध्ये दैनिक १० देखि १५ जनाले विहानको खाना विद्यालयमै खान्छन् । आवासका अधिकांश विद्यार्थी त कहिल्यै घर नै जादैनन् न त आफन्त कहाँ नै जान्छन् । उनीहरूका लागि विद्यालय नै घर, आफन्त र अभिभावक हो ।

फिदिम नगरपालिकासहित हिलिहाङ र कुम्मायक गाउँपालिकाका एक सय ६२ घरधुरी सेवा क्षेत्र रहेको यस विद्यालयमा एक सय तीन जना विद्यार्थी अध्ययनरत छन् । सेवा क्षेत्रमा माझी, तामाङ, राई, लिम्बू र दलित समुदायको बसोबास छ । प्रधानाध्यापक लुइटेलका अनुसार बालविवाहदेखि बहुविवाहसम्मका अनेकन समस्याले झेलिएको यी गाउँमा बालबालिका बेवारिसे हुने क्रम व्याप्त छ । सेवा क्षेत्रका एक दर्जनभन्दा बढी बालबालिका अभिभावकका कारण विद्यालय आउन नसकेपछि तत्कालिन जिल्ला शिक्षा कार्यालयको सहयोगमा ०७२ सालमा आवासको व्यवस्था गरिएको हो ।

विद्यालयले व्यहोरेको अविभावकीय दायित्य

सहाराविहीन बालबालिकालाई विद्यालयमै राखेर पठन–पाठन गराउँदै आएको यो विद्यालयले शिक्षा दिने कार्यमा मात्र आफूलाई सिमित गरेको छैन । बालबालिकाको अविभावकीय दायित्व समेत पूरा गरिरहेको छ । शनिवार होस् वा सार्वजनिक विदा, चाडपर्व होस् वा बन्द हड्ताल यो विद्यालयमा सधैँजसो पठन–पाठन चलिरहन्छ ।

विद्यालयको सेवा क्षेत्रमा हिलिहाङ गाउँपालिकाका माझीटार, तम्फुवा र सीमखर्क, फिदिम नगरपालिकाका माझीटार, सालघारी, सरखण्डे र सिवादोभान तथा कुम्मायक गाउँपालिकाको निबुदोभान लगायतका टोल पर्छ ।
गरिबी, अशिक्षा र अज्ञानताले यहाँका किशोर–किशोरीले १४–१५ वर्षमै विवाह गर्छन् । जवान हुँदासम्ममा ३–४ जना नानीका आमा–बाबु बनिसक्छन्’, प्रधानाध्यापक लुइटेलले भने, ‘बुझ्ने भएपछि खट्पट् हुन्छ र अर्को विवाह गर्छन् । यहि कारण नानीहरू बेवारिसे हुने गरेका छन् ।’

सेवा क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालय आउन नसक्ने भएपछि तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको साथमा आवास निर्माण थालिएको थियो ।
शिक्षा कार्यालय र जिल्ला विकास समितिबाट विभिन्न शीर्षकमा आएको बजेटबाट तीन कोठे भवन बनाइ विद्यार्थी राखेको प्रधानाध्यापक लुइटेल बताउँछन् । २०७२ सालमा १३ जनाबाट सुरुआत भएको आवास एक वर्षमै बन्द हुने अवस्थामा पुगेको थियो । ‘कहीँबाट बजेट पाउन नसक्दा झण्डै बन्द गर्नुपर्यो’, प्रधानाध्यापक लुइटेलले भने, ‘कोही आफन्त वा सहारा दिने अभिभावक भेटिएका बालबालिकालाई घर पनि फर्कायौं ।’

बजेट अभावले एक समय जम्मा ६ जना मात्रै पनि राखेको उनले बताए । एक जना सहयोगीलाई मासिक तीन हजार पारिश्रमिक दिएर बालबालिकाको हेरचाह गर्न राखिएको लुइटेल सम्झन्छन् ।
‘लत्ताकपडादेखि खाद्यान्नसम्म मागेर धान्यौँ’, प्रअ लुइटेलले भने । स्थानीय तह निर्माणपछि भने फिदिम नगरपालिकाले आवास सञ्चालनमा भरथेग गर्दै गर्न थाल्यो । आवासमा बसेर पढेका विद्यार्थी अहिले कक्षा ९ मा पुगेका छन् । उनीहरूमध्ये अधिकांश फिदिम–४ स्थित सुखबोध माध्यमिक विद्यालयमा अध्ययरत छन् । ‘यहाँ बसेका धेरै विद्यार्थी तीक्ष्ण क्षमताका छन्’, लुइटेलले भने, ‘केही त कक्षामा उत्कृष्ट भइरहेका छन् ।’
हेरचाहमा कठिनाइ
आवासमा रहेका सातदेखि १४ वर्षका २५ जना बालबालिकाको हेरचाहको जिम्मा शिक्षिका मालिका सुब्बा र सहयोगी एवं भान्से विमला तामाङले लिएका छन् । ‘विहानदेखि रातिसम्मै उनीहरूको खानपान, सरसफाइ, पढाइलगायतमा हामी तल्लिन हुन्छौँ’, शिक्षिका सुब्बाले भनिन्, ‘दुई जनाले यति धेरै काम गर्न कठिन पर्ने गरेको छ ।’ बाहिर जथाभावी हिँड्न नदिनेदेखि माया ममता दिने दायित्व पनि विद्यालय परिवारको छ । ‘नसक्ने बालबालिकाका कपडा समेत धोइदिनु पर्छ’, तामाङले भनिन् । धेरै विद्यार्थी रहेकाले आफूले समेत प्रायः विद्यालय छोड्न नपाउने प्रधानाध्यापक लुइटेलको भनाइ छ ।
शिक्षक र सहयोगीको स्थायी दरबन्दी दिन माग
सरकारी व्यवस्थाअनुसार विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कायम हुन्छ । फिदिम नगरपालिकासँग विद्यार्थी संख्या कम भए पनि स्थानीय समस्या बुझेर दरबन्दी थपिदिन आग्रह गरेको प्रधानाध्यापक लुइटेलले बताए ।
‘साथीहरू (अन्य विद्यालयका प्रधानाध्यापक) तपाईंको विद्यालयलाई पाँच लाख बजेट दिएको छ । अरुले एक लाख पनि पाएका छैनैनन् भन्नुहुन्छ’, लुइटेलले भने, ‘तर हाम्रो समस्या कसैले बुझिदिएन ।’ आवास सञ्चालनको बजेटलाई वृद्धि गरी एक जना शिक्षक र एक जना सहयोगीको दरबन्दी पाए विद्यालय सञ्चालनमा सहज हुने लुइटेलको भनाइ छ । कक्षा छसम्म चलेको विद्यालयमा अहिले चार जना शिक्षक दरबन्दी र एक जना अन्य स्रोतबाट राखिएका शिक्षक छन् ।
उपल्लो कक्षा पढ्न झनै समस्या
जागृति आ.विले अहिले कक्षा ६ सम्म पठन–पाठन गराइरहेको छ । कक्षा ७ का लागि स्वीकृति दिन माग गर्दै निवेदन दिएको छ । सदरमुकाम नजिकै भए पनि यहाँबाट अर्को विद्यालय पुग्न कम्तिमा डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ । समयमा सवारीसाधन नपाइने समस्या त छँदै छ ।
अधिकांश परिवारले छोरा–छोरीलाई दैनिक भाडा तिरेर विद्यालय पठाउन सक्दैनन् । विद्यालय टाढा हुँदा धेरै विद्यार्थीले पढाई छोड्ने गरेको प्रधानाध्यापक लुइटेलले देखेका छन् ।
‘एक–दुई दिन ट्रयाक्टरमा झुन्डिएर जान्छन् । कहिले गाडी कुर्दा कुर्दै बाटोमै १० बज्छ, त कहिले हिँड्दाहिँड्दै भोकाउँछन्’, लुइटेलले भने, ‘त्यसपछि स्कुल जानै छाडिदिन्छन् ।’

सेवा क्षेत्रका हिसाबले यो विद्यालयलाई कक्षा आठसम्म पु¥याउनै पर्ने आवश्यकता छ रहेको उनको भनाइ छ । ‘नौ कक्षा पुगेपछि उनीहरु आफैँ अलि बुझ्ने र परिपक्व हुन्छन् । पढ्नुपर्छ भन्ने चेतना आउँछ र अर्काको घरमा काम सघाएर पनि पढ्न सक्छन्’, लुइटेलले भने, ‘यसतर्फ सरकारी निकायले सोचिदिउन् ।’

विद्यालयलाई सधैँ आर्थिक अभाव

तीन आर्थिक वर्षदेखि फिदिम नगरपालिकाले आवासीय विद्यालय सञ्चालनका लागि बजेट छुट्याउँदै आएको छ । नगरपालिकाले अघिल्ला तीन आर्थिक वर्षमा विभिन्न शिर्षकमा क्रमशःतीन लाख र पाँच/पाँच लाख बजेट दिएको थियो । तर यति बजेटले आवास सञ्चालन खर्च धान्न कठिन परेको प्रधानाध्यापक लुइटेलको गुनासो छ । आवाशमा रहेका बालबालिकाको लागि दैनिक न्यूनतम १८ हजार लाग्ने उनले बताए । लुइटेलले भने, ‘विद्युत्, लत्ताकपडा, स्वास्थ्य सेवा आदिमा उत्तिकै खर्च लाग्छ ।’
१६ बालक एउटै कोठामा
चार कोठे आवास आवास गृहमा १ देखि ७ कक्षासम्मका विद्यार्थी बस्छन् । तर, भवनको अभावमा एउटै कोठामा १६ जना छात्र र अर्कोमा ९ जना छात्रा बसोबास गरिरहेको प्रधानाध्यापक लुइटेलले वताए ।

विद्यालयले कम्तिमा ५० जना बालबालिका अट्ने भवन, भान्साघर, सहयोगीका लागि कोठा, शौचालय लगायत निर्माणका लागि नगरपालिकासँग प्रस्ताव गरे पनि बजेट नभएको प्रतिक्रिया पाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङको भनाइ छ ।

यहाँ अहिले रहेका २५ मध्ये १६ जना बालबालिकाका बाबुआमाले छोडेका छन् । बाँकी नौ जनाका बाबुआमा भए पनि स्याहारसुसार नगर्ने, ख्याल नराख्ने भएपछि विद्यालयले नै अभिभावकत्व लिई अध्ययनको प्रवन्ध गरेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट