
कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा सहिद स्मृति पार्क निर्माण गरेको छ ।
वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरेको हो ।
छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए ।
प्रदेश प्राप्तिको आन्दोलनका सहिद भएकाको स्मृतिमा पार्क बनाइएको हो ।
वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुुँवरलाई प्रदेश आन्दोलनका शहीदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ ।
यी चार शहीदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माण गरेको हो ।
अभियान निर्माण सेवाले १ करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ ।
पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ ।
पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ ।
भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लाग्ने बताए ।
पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ । वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ ।
तर निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ ।
प्रतिक्रिया