जेलभित्रै तरुण दल अध्यक्षको हत्या गर्नेलाई राष्ट्रपतिद्वारा आममाफी, तरुण दलको कडा आपत्ति

काठमाडौं : प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारभित्रै व्यक्ति हत्यामा संलग्न तीन जनालाई कैद मिनाह गरेकोमा नेपाल तरुण दलले आपत्ति जनाएको छ ।

तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेललाई २०६८ साल पुस महिनामा जेलभित्रै हत्या गरिएको थियो ।

हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाई प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले बाँकी कैद मिनाह गरी आममाफी दिएकी हुन् ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले शनिबार बिज्ञप्ति जारी गर्दै हत्याजस्तो जघन्य अपराधमा जेल सजाय भोगिरहेका व्यक्तिलाई राष्ट्रपतिबाट आममाफी दिइनु लोकतन्त्रकै धज्जी उडाउने काम भएको बताए ।

‘जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै राष्ट्रपति विद्या देवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिईएकोप्रति नेपाल तरुण दल केन्द्रिय समिति गम्भीर आपत्ति जनाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवाञ्छित कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेको प्रष्ट भएको छ ।’

तरुण दलले सरकारको गैरजिम्मेवारपूर्ण कार्यको विरुद्धमा आन्दोलनमा जाने निर्णय गरेको छ ।

अध्यक्ष बस्नेतले अपराधीहरुलाई संरक्षण गर्ने सरकारको निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न चितवन जिल्ला समितिलाई निर्देशन दिएको छ ।

No description available.

प्रतिक्रिया

TOP