सोमबार, कार्तिक १ २०७८

भगवत गीता : आध्यात्म कि विज्ञान?

भगवत गीता : आध्यात्म कि विज्ञान?


राजु अधिकारी
असोज ११ २०७८, सोमबार

आधुनिक विज्ञानको जन्म नहुँदासम्म धर्म नै विज्ञान थियो र धर्मग्रन्थहरू नै विज्ञानका पुस्तकहरू। त्यस्तै ध्यान, चिन्तन र मनन अनुसन्धान थियो भने पुरै समाज प्रयोगशाला। त्यसैमा आधारित भएर अहिले प्रचलित धर्महरूका धर्मग्रन्थहरू लेखिएका छन्। ती धर्मग्रन्थहरू मुलतः कसरी सुखसँग मानव जीवन जिउने, समाजमा कसरी शान्ति र सुशाशन स्थापना गर्ने उद्देश्यले लेखिएका हुन्।

तर वेद पुराण हुन् या बाइबल अथवा कुरान, सबै ग्रन्थहरूमा आध्यात्मका साथै प्रसस्त वैज्ञानिक पक्षहरू पनि भेटिन्छन्। हिन्दु धर्मग्रन्थहरूलाई त आधुनिक वैज्ञानिकहरूले समेत निकै वैज्ञानिक ग्रन्थ भएको स्वीकार पनि गरिसकेका छन्। त्यसैले हिन्दु धर्मग्रन्थहरूको अध्ययन प्रति पश्चिमा विद्वानहरूको चासो बढ्दो छ।

वेद, पुराणहरू भन्दा पनि पूर्वीय धर्मग्रन्थहरू मध्येमा सबै भन्दा बढी चर्चा पाएको ग्रन्थ सम्भवतः श्रीमद्भगवदगीता नै होला। हिन्दुहरू बाहेक अन्य धर्ममा विश्वाश गर्ने या कुनै पनि धर्ममा विश्वाश नगर्ने पाठकहरूले यो ग्रन्थलाई धर्मग्रन्थ भन्दा पनि जीवन जिउन सिकाउने शाश्त्रको रुपमा लिन्छन्। यसमा मानिसको जीवनका आउन सक्ने यावत् समस्याहरू र त्यसलाई कसरी आफैले निराकरण गर्ने तरिकाहरूको बारेमा वर्णन गरिएको छ।

संसारको सबभन्दा ठूलो महाकाव्य महाभारतको भीष्मपर्वमा कौरव र पाण्डवहरू बिच युद्ध शुरु हुनु भन्दा पहिले पाण्डव पक्षका योद्धा अर्जुनले विपक्षी सेनामा आफ्ना भाइ भारदार र गुरुहरू देखेर विक्षिप्त भएर युद्ध गर्नबाट विमुख हुन खोज्दा उनका सारथी बनेका श्रीकृष्णले अर्जुनलाई जीवनको रहस्य, उदेश्य र यसको महत्वको बारेमा सबै कुरा छर्लङ्ग हुनेगरी बताएर अर्जुनलाई युद्धको लागि तयार गर्दाको विषय नै गीतामा समावेश गरिएको मुख्य विषय हो।

अनुष्टुप छन्दमा लेखिएको यो ग्रन्थमा १८ अध्याय र ७०० श्लोकहरू मात्र छन् तर त्यति छोटो ग्रन्थमा श्रीकृष्णले कर्म, भक्ति र ज्ञानको माध्यमबाट जीवन कसरी सरल बनाउने र अन्त्यमा कसरी मोक्ष प्राप्त गर्ने बारेमा सरलताका साथ वर्णन गरेर मानव जीवनका हरेक आयामहरूलाई छोएका छन्।

श्रीकृष्णले जीवनको रहस्य बारेमा बुझाएपछि अर्जुन पुनः युद्धका निम्ति तयार हुन्छन्। यति नै हो गीताको विषयवस्तु। तर त्यही एउटा घटनालाई यसका रचयिता व्यासले सम्पूर्ण मानव जीवनसँग जोडेर वर्णन गरेका छन्। गीताको सबभन्दा सुन्दर र महत्वपूर्ण पक्ष पनि त्यही नै हो।

एउटा धार्मिक ग्रन्थ हुनुको नाताले गीतामा मूलतः आध्यात्म र इश्वरको बारेमा वर्णन गरिएको छ। तर गीताको आध्यात्मिक पक्ष जति बलियो छ, दार्शनिक र व्यावहारिक पक्ष पनि त्यत्तिकै सबल छ। त्यसैले गीताका आध्यात्मिक, दार्शनिक र व्यावहारिक पक्षहरूमा पूर्वमा मात्र नभएर पश्चिममा पनि धेरै सोध, खोज र अध्ययन अनुसन्धानहरू भएका छन्।

प्रसिद्ध वैज्ञानिक तथा परमाणु बमका पिता भनेर चिनिने रोबर्ट ओपेनहाइमर देखि दार्शनिकहरू- थोरो, इमर्सन अनि धेरै लेखक, कलाकारहरू र राजनितिज्ञ सहित गीताबाट प्रभावित हुने विद्वानहरूको सूची लामै छ। उनीहरूले गीताको अध्ययन मात्र गरेका छैनन् यसबाट प्रभावित भएर त्यसलाई आफ्नो जीवनमा उतार्ने प्रयास पनि गरेका छन्।

तर गीताको सन्देश यसका आध्यात्मिक, दार्शनिक र व्यावहारिक पक्षहरूमा मात्र सिमित हुँदैन। गीताले विज्ञानका अनेकौं पक्षहरू पनि मिहिन रुपमा समेटेको छ।

मेरील्याण्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट डब्ल्यु न्युकम्बके सहित केही विद्वानहरूले गीताको वैज्ञानिक पक्षको बारेमा केही अध्ययन गरे पनि गीताका वैज्ञानिक पक्षहरूमा त्यति धेरै अध्ययन र अनुसन्धान नभएकोले त्यो पक्ष अँझैसम्म पनि ओझेलमा परेको छ।

अहिलेसम्म भएका केही अध्ययन र अनुसन्धानहरूलाई आधार मानेर यहाँ गीताका केही वैज्ञानिक पक्षहरूको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ।

उत्पत्ति र अन्त्यको चक्रिय सिद्धान्त:

श्रीमद् भगवद्गीता अध्याय २ को श्लोक २७ को प्रथम पङ्क्तिमा श्रीकृष्णले अर्जुनलाई जन्म र मृत्युको बारेमा सम्झाउँदै भनेका छन्- जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च…..। अर्थात् जसले जन्म लिन्छ उसको मृत्यु निश्चित छ र जो मर्छ उसको जन्म पनि निश्चित छ ।

हुन त आधुनिक विज्ञानले पुनर्जन्मको सिद्धान्तलाई स्वीकार गरेको छैन किनभने त्यो अँझै प्रमाणित हुन सकेको छैन तर हामीले हाम्रो वरपरका कृयाकलापहरू नियाल्यौं भने देख्न सक्छौं कि प्रकृतिका सबैजसो कृयाकलापहरू चक्रीय छन्- उत्पन्न हुन्छन्, समाप्त हुन्छन् र पुनः त्यही या अर्को रुपमा उत्पन्न हुन्छन् र फेरि समाप्त हुन्छन् र निरन्तर यही प्रकृया चलिरहन्छ।

प्राणी या वनस्पतिको जीवन चक्र होस् अथवा हामी सबैले देखेको सामान्य जल चक्र नै किन नहोस् प्रकृतिमा हरेक कुरा चक्रीय छ। त्यति मात्र हैन स्वयं ब्रम्हाण्डको उत्पत्ति र अन्त्य पनि चक्रीय छ। यो पनि कुनै दिन उत्पत्ति भएको थियो र एक दिन नष्ट हुनेछ भनेर विज्ञानले स्वीकारिसकेको छ। त्यही कुरालाई गीतामा पनि मानिसको जन्म र मृत्युसँग जोडेर वर्णन गरिएको छ।

परिवर्तन र अस्थायित्वको सिद्धान्तः

संसार परिवर्तनशील छ। भनिन्छ संसारमा एउटा मात्र कुरा अपरिवर्तनशील छ र त्यो हो परिवर्तन। त्यसैले संसारमा कुनै कुरा पनि स्थायी हुँदैन र यो नियमित प्रकृया हो भन्ने कुरा विज्ञानले पनि प्रमाणित गरिसकेको कुरा हो। हाम्रै शरीरको कुरा गर्दा यसभित्र अदृष्य रुपमा हरेक पल केयौं कोषिकाहरू नष्ट भैरहेका हुन्छन् भने कैयौं नयाँ कोषिकाहरू निरन्तर निर्माण भैरहेका हुन्छन्।

एक सेकेन्ड अगाडिको हाम्रो शरीर एक सेकेन्ड पछाडिको हाम्रो शरीर भन्दा भिन्न हुन्छ। त्यही कुरा ब्रम्हाणका हरेक जीवित र निर्जीव वस्तु सबैमा लागु हुन्छ। त्यसैलाई प्रतिबिम्बित गर्दै गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन्- मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः, आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत (अध्याय २ श्लोक १४)। अर्थात, हे कुन्तीपुत्र, जाडो र गर्मी जस्तै सुख दुःख, प्रारम्भ र अन्त्य हुन्छ; यो अनित्य अर्थात् अस्थायी छ, त्यसैले तिमीले त्यसलाई सहन गर्न सक्नुपर्छ।

यसरी हेर्दा विज्ञानले स्वीकारेको परिवर्तन र गीतामा भनेको अस्थीत्वको कुरा हुबहु मिल्न जान्छ।

ऊर्जा संरक्षणको सिद्धान्त:

विज्ञानमा ऊर्जा संरक्षणको सिद्धान्त (Law of conservation of Energy) निकै महत्वपूर्ण सिद्धान्त हो। यो सिद्धान्त अनुसार ऊर्जा न त बनाउन सकिन्छ न त यो नष्ट नै हुन्छ। यो खालि एक रुपबाट अर्को रुपमा परिणत मात्र हुन सक्छ। यो ब्रम्हाण्ड उत्पत्ति हुँदा जति ऊर्जा थियो अहिले पनि त्यति नै छ तर यो कहिले कुन रुपमा हुन्छ भने कहिले कुन रुपमा।

शक्तिको बारेमा अर्को कुरा- सुक्ष्म विज्ञानमा रुची राख्नेहरूलाई थाहा होला, विज्ञानले के पनि प्रमाणित गरेको छ भने, संसारमा भएका हरेक दृष्य र अदृष्य वस्तुहरू वास्तवमा शक्तिका कम्पनहरू मात्र हुन्। अति भन्दा अति सुक्ष्म तहमा गएर हेर्दा कुनै कुरा पनि आकारमा हुँदैन र सबै कुरा शक्तिका तरंगहरूको कम्पन मात्र हो।

ऊर्जा बारेको त्यही सिद्धान्त गीतामा उल्लेखित छ भन्ने कुरा यसको अध्ययन गर्ने सबैलाई सोच्न कर लाग्छ। गीतामा मात्र हैन हिन्दु धर्मग्रन्थहरूमा आत्माको वर्णन गरेको पाइन्छ। विज्ञानले शक्तिको वर्णन गरे जस्तै कतै गीतामा वर्णन गरिएको आत्मा एउटै कुरा त हैन? त्यसको लागि गीताका केही श्लोकहरू हेरौं-

गीताको अध्याय २ को श्लोक १९ देखि शुरु भएर त्यही अध्यायको श्लोक ३० सम्म श्रीकृष्णले आत्माको बारेमा वर्णन गरेका छन्। श्लोक १९ मा श्रीकृष्ण भन्छन्- य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम्, उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते । अर्थात् जसले आत्मालाई मर्ने या मार्नेको रुपमा सम्झन्छ उसलाई थाहा छैन कि आत्मा न आफै मर्छ न यसलाई मार्न सकिन्छ।

त्यस्तै २३ श्लोकमा उनी भन्छन्- नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः, न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः। अर्थात् आत्मालाई न कुनै शस्त्रले काट्न सक्छ, न अग्निले जलाउन सक्छ, न जलले भिजाउन सक्छ, न वायुले सुकाउन सक्छ। त्यसैले यो अददृष्य, निराकार र सर्वव्यापी पनि छ।

आत्माको बारेमा लेखिएको अर्को श्लोक, श्लोक ३० को पहिलो पङ्क्तिमा श्रीकृष्ण भन्छन्- देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत …। हे अर्जुन ! यो आत्मा सबैको शरीरमा सधैं अवेध्य छ । त्यसैले आत्मा कहिले एक शरिरमा पस्छ कहिले अर्कोमा।

माथिका श्लोक हेर्दा थाहा हुन्छ कि विज्ञानले वर्णन गरेको उर्जा र गीतामा वर्णन गरिएको आत्माको बारेमा निकै कुराहरू हुबहु मिल्न जान्छन्। त्यसैले ‍गीतामा शक्तिलाई नै आत्माको रुपमा भनिएको त हैन भनेर हामीलाई सोच्न करै लाग्छ।

माथि उल्लेखित सिद्धान्तहरू त केही उदाहरणहरू मात्र हुन्। त्यो बाहेक न्युटनको गतिका नियमहरू पनि मिहिन रुपमा गीता अध्ययन गरेमा त्यहाँ भेट्न सकिन्छ। न्युटनको गतिका नियमहरू मध्येको तेश्रो नियम अनुसार हरेक क्रियामा बराबर र विपरीत प्रतिक्रिया हुन्छ भनिन्छ। त्यही कुरालाई श्रीकृष्णले गीतामा अँझ विस्तृत रुपमा अर्जुनलाई बताएका छन्- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन….(श्रीमद् भगवद्गीता अध्याय, २ श्लोक ४७ को प्रथम पङ्क्ति)। अर्थात् हरेक कार्यको प्रतिफल प्राप्त हुन्छ भनेर। त्यसलाई वैज्ञानिक भाषामा बुझ्दा, हरेक कृयाको प्रतिकृया हुन्छ भनेर बुझ्न सकिन्छ।

तर यसको मतलब गीता भनेको विज्ञान नै हो भन्न खोजिएको भने हैन। सबैजसो धर्म ग्रन्थहरू उपमा दिएर लेखिएका हुन्छन्, त्यसको अर्थ आफ्नो स्वार्थ र इच्छा अनुसार विभिन्न रुपमा लगाउन सकिन्छ- कुनै ठ्याक्कै मिल्छ भने कुनै चाहिँ उपमाको अर्थ लगाएर बुझ्नुपर्ने हुन्छ।

गीताको सन्दर्भमा धेरै कुराहरू उपमा दिएर वर्णन गरिएका छन्। त्यसको कस्तो अर्थ लगाउने भन्ने कुरा पाठकमा भर पर्ने कुरा हो। त्यसै पनि हरेक मानिसका सोचाइ र बुझाइहरू फरक फरक हुन्छन्, एउटै घटना या व्याख्यालाई मानिसहरूले आ-आफ्नो दृष्टिकोणबाट बुझ्छन् र त्यही अनुसार आफ्नो मत बनाउँछन्। तर हामीले सही तरिकाले बुझ्न खोजेमा, सही अर्थ लगाउन सकेमा गीताका श्लोकहरू आध्यात्मिक, दार्शनिक र व्यावहारिक मात्र नभएर निकै वैज्ञानिक पनि छन् भन्ने हो।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट