
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले आमनिर्वाचनकै बेला ‘कम्यूनिष्ट पार्टीको शासन आए नागरिकले रुन पनि पाउँदैनन्’ भन्ने कुरा सत्य सावित भएको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा नुवाकोट पार्टी कार्यालय उद्घाटन गर्दै सभापति देउवाले उति बेला आफ्नो भनाईलाई मजाक बनाउनेहरुले अहिले बास्तविकता बुझेको बताए ।
उनले आफ्नै पार्टीका नेताहरुप्रति इंगित गर्दै भने, ‘बल्ल आएर ओलीविरुद्ध बोल्न सक्नुभएको छ । राम्रै भयो । अझै प्रचण्डका खिलापमा बोल्न डराइरहनुभएको छ । खोई प्रचण्डविरुद्ध बोल्न सकेको ?’
उनले संसद विघटनको मुद्धा अदालतमा सुनुवाईका क्रममा रहेको उल्लेख गर्दै अदालतलाई विश्वास गर्नुपर्ने बताए ।
‘अदालतलाई विश्वास नगरेर कसलाई गर्ने ?’ देउवाको प्रश्न थियो, ‘नत्र भीडका आधारमा जसले सक्छ उसैले भनेको माने भयो नि । किन अदालत चाहियो ?’
उनले लोकतान्त्रिक पार्टी सदैव निर्वाचनका लागि तयार हुनुपर्नेमा जोड दिए ।
‘गिरिजाबाबुको पालामा पनि चुनाव हुँदैन भनेर भनिरहेका थिए । मेरो पालामा पनि कहाँ चुनाव हुँन्छ भनेर भनिरहेका थिए। तर चुनाव त भयो नि,’ उनले भने, ‘अहिले भएपनि दुई वर्षपछि भएपनि चुनाव हुन्छ । चुनावका लागि हामी तयार हुनुपर्दछ ।’
प्रतिक्रिया