प्रचण्ड-माधव समूहलाई मुख्यमन्त्रीको कटाक्ष : कुहिएका फल र सुकेका पत्ताहरु झरे

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड नेपाल समूहलाई कुहिएका फल र सुकेका पातको संज्ञा दिएका छन् ।

उनले केही कुहिएका फलहरु झरेपनि आफूहरु कँहीकतै नचुकेको दावी गरे ।

प्रदेश सरकारले प्रदेशको शीर झुक्ने केही काम पनि नगरेको मुख्यमन्त्री राईको दावी थियो ।

‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं । सिंगो प्रदेश र प्रदेशवासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौं, यो कुरा पनि शीर ठाडो पारेर भन्न चाहन्छु,’ प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले भने ।

उनले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको जीकिर गरे ।

‘विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ,’ उनले भने, ‘सरकार भाग्न खोजेको छैन, पन्छिन खोजेको छैन ।’

तर उनले अविश्वासको प्रति लक्षित गर्दै संविधान, कानुन र दलीय व्यवस्थाविपरीत आएका प्रस्तावमा सरकार लचिलो नहुने बताए ।

‘हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं । ती प्रश्न हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन्, संविधान, कानुनबाट निर्देशित दलीय कानुन र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्, त्यसमा हामी लचिलो हुन सक्दैनौं,’ उनले भने ।

प्रचण्ड-माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

तर सत्तारुढ दल नेकपाकै कारण अविश्वासको प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

नेकपा ओलीनिकट सांसदहरुले प्रस्तावमाथि छलफल गर्न सदनमा अवरोध गर्दै आएका छन् । मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह समेत गरिसकेका छन् ।

उनले प्रदेशसभा विघटन हुन सक्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

TOP