फागुन ७ नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २००७ साल फागुन ७ गतेलाई नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रुपमा स्मरण गरेका छन् ।

उनले कांग्रेसको नेतृत्वमा भएको क्रान्तिपछि नेपालमा प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण भएको दावी गरेका छन् ।

‘७० बर्ष अघि २००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन-क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो,’ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देउवाले भने, ‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग¥यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण ग¥यो ।’

पूर्वप्रधानमन्त्री देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको उल्लेख गरे ।

‘अतः ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।

साथै संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा प्रदान गर्ने देउवाको विश्वास छ ।

प्रतिक्रिया

TOP