दाहाल-नेकपा समूहका केन्द्रीय सदस्यहरु नागरिकता बोकेर आज निर्वाचन आयोग जाँदै

काठमाडौँ : नेपाल कम्यूनिष्ट पार्टी नेकपा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरु आज निर्वाचन आयोग जाने भएका छन् ।

बहुमत केन्द्रीय सदस्य आफूसँग हुँदाहुँदै निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंग्याउन ढिलाई गरेको भन्दै दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरु नागरिकता बोकेर आयोग जान लागेका हुन् ।

आज मध्यान्ह १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा जम्मा भएर आयोग जाने तयारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी विभाजन हुनु अघिको नेकपाको केन्द्रीय कमिटीमा ४४१ केन्द्रीय सदस्य थिए ।

त्यसमध्ये दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा वैधानिकताको दाबी गर्दै २८७ जनाको नाम बुझाएको थियो ।

बहुमत केन्द्रीय आफूसँग भएपनि निर्वाचन आयोगले आधिरिकता दिन ढिलाई गरेपछि दाहाल नेपाल समूह चिढिएको हो ।

आयोगले माघ १२ मा नेकपाका दुवै समूहलाई आधिकारिता दिन नसकिने निर्णय सुनाएको थियो ।

त्यसपछि दाहाल-नेपाल समूह दल विभाजन सम्बन्धी निवेदन लिएर माघ २० मा आयोग पुगेको थियो ।

आयोगले नेकपा र सूर्य चिन्ह फ्रिज गर्न थालेको समाचार प्रकाशमा आएकै बेला दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आयोग जाने तयारी गरेको हो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलगत्तै नेकपा राजनीतिक रुपमा विभाजित भएको थियो ।

प्रतिक्रिया

TOP