
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेका छन् ।
लेखकको संयोजकत्वमा ७ सदस्यीय सदस्यता छानविन समिति गठन गरिएको हो ।
सदस्यमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेका छन् ।
सभापति देउवानिकट मानिने केन्द्रीय सदस्य लेखक १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य नरहरी आचार्यको संयोजकत्वमा रहेको समिति सदस्य थिए ।
सभापति देउवाले यसअघि नै लेखकलाई समितिको संयोजकमा प्रस्ताव गरिसकेका थिए ।
तर बरिष्ठ नेता रामचन्द्र पौडेलले भने नरहरी आचार्यलाई समिति संयोजक बनाउनुपर्ने माग गर्दै आएका थिए ।
क्रियाशील सदस्यता छानविन समितिलाई निम्न कार्यादेश दिइएको छ :
१. नयाँ क्रियाशील सदस्यता सम्बन्धमा जिल्ला स्तरिय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा परेका उजुरी उपर विधानको धारा ४ (८) (ङ) बमोजिमको समितिले गर्ने कार्य गर्ने ।
२. पार्टीको विधान, नियमावली र मिति २०७६/११/१३ गते समेतका केन्द्रीय परिपत्र बमोजिम पार्टीका सबै सम्बन्धित निकायबाट क्रियाशील सदस्यता (नयाँ वितरण र नविकरण) सम्बन्धी कामको जानकारी लिने, प्रक्रियाको पालना भए÷नभएको अनुगमन गर्ने र क्रियाशील सदस्यता
(नयाँ र नविकरण) सम्बन्धमा केन्द्रले तोकेको मितिभित्र कार्यसम्पन्न गर्नका लागि आवश्यक अनुगमन, निर्देशन र निर्णय गर्ने ।
३. क्रियाशील सदस्यता सम्बन्धमा समितिले आवश्यकता अनुसार जिम्मेवारी तोकी केन्द्रीय प्रतिनिधि खटाउन सक्ने ।
४. क्रियाशील सदस्यता सम्बन्धमा परेका उजुरी र पुनरावेदन उपर अन्तिम निर्णय गर्ने ।
५. क्रियाशील सदस्यता (नयाँ र नविकरण) को प्रमाणित सूची केन्द्रले तोकेको मितिभित्र पार्टीको विधान, नियमावली र मिति २०७६/११/१३ गतेको केन्द्रीय परिपत्रले निर्देशन गरे अनुरुपको प्रक्रिया पुरा गरी केन्द्रीय कार्यालयमा आइसक्नु पर्नेछ । प्रक्रिया पुरा नभएका क्रियाशील सदस्यताको नामावलीको सूची स्वीकृत हुने छैन ।
६. केन्द्रले तोकेको मिति भित्र क्रियाशील सदस्यता नवुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन पाउने छैन ।
७. पार्टीको सबै निकायले (वडा/पालिका/प्रदेश सभा/प्रतिनिधि सभा/जिल्ला) केन्द्रले तोकेको मिति भित्र आफु भन्दा माथिको निकायलाई क्रियाशील सदस्यता बुझाउदा आफ्नो र मातहात निकायको बैठकको निर्णयको प्रमाणित प्रतिलिपी, क्रियाशील सदस्यता (नयाँ र नविकरण) को प्रमाणित सूची, सदस्यता शुल्क र सहयोग रकम (लेवी) अनिवार्य रुपले बुझाउनु पर्नेछ । प्रतिनिधि सभा/जिल्ला कार्यसमितिले केन्द्रमा क्रियाशील सदस्यताको सूची बुझाउदा उपरोक्त उल्लेखित सबै तहका कागजात अनिवार्य रुपमा संलग्न राख्नु पर्नेछ ।
८. क्रियाशील सदस्यता छानविन समितिले महाधिवेशनको कार्यतालिका बमोजिमको मितिभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुंग्याई केन्द्रीय कार्यसमितिमा प्रतिवेदन पेश गर्नेछ ।
९. क्रियाशील सदस्यता छानविन समितिले तेह्रौ महाधिवेशनको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी लागु गर्नेछ ।
प्रतिक्रिया