
काठमाडौं : नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेका खोपलाई मात्र नेपालमा प्रयोगको अनुमति दिन सरकारसँग माग गरेको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको समितिले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाललाई अनुदानमा आउने र खरिद गर्ने खोप विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा भएको हुनुपर्ने माग गरेको हो ।
भारतले नेपाललाई दश लाख खोप अनुदानमा दिइसकेको छ भने चीनले पाँच लाख खोप अनुदानमा दिने घोषणा गरिसकेको छ ।
‘भविष्यमा पनि अन्य देश र संस्थाहरुबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकता अनुरुप खरीद गरी खोप ल्याउँदा विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेका खोपहरुलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ सहमहामन्त्री एवं समिति संयोजक महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले कोभिड-१९ विरुद्ध आम जनतालाई खोप लगाई स्थायी रुपमा कोरोनालाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना नल्याएको भन्दै विरोध जनाएको छ ।
साथै कांग्रेसले कोरोना खोप वितरणमा स्पष्ट कार्ययोजना बनाउन पनि माग गरेको छ ।
‘छिमेकी राष्ट्र भारतबाट सहयोग स्वरुप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा संचारकर्मीहरुलाई खोपमा प्राथमिकता उपयुक्त हो । तर ज्येष्ठ नागरिकहरुलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नु पर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ ।’
कांग्रेसले सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जन–आशंका उत्पन्न भएको उल्लेख गरेको छ ।
साथै खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको खबरहरु आइरहेको उल्लेख गर्दै कांग्रेसले यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिक्रिया