वाह ! राजनीति, तिमी कति शक्तिशाली ? ‘जहाँ छोयो, त्यहीँ ध्वस्त’

सुन्दा र पढ्दा असाध्यै कटु लाग्न सक्छ, क्रोध बढ्न सक्छ तर नेपाली राजनीतिको परम्परा र प्रचलन अनुसार ‘जहाँ जहाँ राजनिति भित्रिन्छ त्यहाँ त्यहाँ समाप्तीको सुरुवात हुन्छ’।

प्रसंग र बिषय विश्वको होइन, हाम्रो देश नेपालको हो । जहाँ विगतदेखि वर्तमान धुमिल राजनीतिले धुलाम्य छ । यस्को सुद्दिकरणको सम्भावना सहज होइन बरु शून्य छ ।

जहाँ राजनीतिको लागि राजनीतिक विरोध हुन्छ, विरोधको लागि विरोधको विकल्प विरोध शिवाय केही छैन ।

अनादर गर्ने पनि राजनीति, आदरको वकालत गर्ने पनि राजनीति । हत्या हिंसालाई बलिदानी योगदान मान्ने पनि राजनीति । अपराधलाई योग्यता मान्ने पनि राजनीति, अधिकार हनन गर्ने पनि राजनीति ।

अधिकारको सुनिश्चितता माग गर्ने पनि राजनीति, आक्रमण गर्ने पनि राजनीति तर राजनीतिकै लागि प्रत्याक्रमण गर्ने पनि राजनीति, संविधान बनाउने पनि राजनीति ।

संविधान जलाउने पनि राजनीति । फरक व्यवस्था चाहना राख्ने पनि राजनीति ।

चाहनामाथि लगाम लगाउने पनि राजनीति । सम्मानार्थ शालिक ठड्याउने पनि राजनीति । शालिक तोडफोड गरि अपमानित गर्ने पनि राजनीति ।

कानुन निर्माण गर्ने पनि राजनीति कानुनको उदांगो उलंघन गर्ने पनि राजनीति।

विद्यालयमा राजनीति भित्रियो । पढाईसंगै नैतिक शिक्षा सम्मिलित पाठ्यक्रम नै ध्वस्त भयो । ठूला ठूला उद्योग कलकारखानामा राजनीति पस्यो ।

अहिले मात्र होइन, प्रायःसदाका लागि बन्द छन केही उद्योगहरु । तारे होटलमा राजनीतिक ट्रेड युनियन गठन भए ।

पुरानो साख र नाम भएका स्थापित होटेल बन्द हुन पुगे । गाउँ गाउँमा राजनीति पुग्यो । सदियौं देखिका उर्बर खेतबारी अहिले प्राय बाँझो छ ।

नागरिक स्वतन्त्रतामा राजनीति पस्यो । नागरिक स्वतन्त्रतामा निषेध, नियन्त्रण र आक्रमण हुन थाल्यो । वर्गीय उत्थानको नाममा राजनीति भयो, वर्गीय संकुचन विस्तार भयो ।

जातजाति धर्मको राजनीतिको त के कुरा गरौं, सबै जानकार नै छन् । प्रायः सबै पेशा, व्यवसाय र व्यवस्था राजनीतिको कब्जामा छ ।

अरु र अरु ब्रह्मलीन भएका लास त राजनितिबाट अछुतो रहन सकेनन् । बिस्तारमा बयान गर्न नसकिने गरि थलिएको देश नै कुनै दिन राजनीतिले ध्वस्त भयो भने कस्लाई दोष दिने ?

राजनीतिमा सरिक सबैलाई देशको चिन्ताले राजनीति गरेको हो भने आफूलाई राजनीतिको लागि योग्य, आवश्यक र क्षमतावान ठान्ने बाहेक बाँकीले पार्टी प्रतिको अनावश्यक आराधना त्यागौं ।

आ–आफ्नो पेशा, व्यवसाय, निष्ठा धर्म र कर्ममा केन्द्रित भई क्रियाशील बनौं । देश आफै बन्छ ।

यसो गर्दा पनि यदि बनेन भने सबैले फेरि पनि शालिक तोडफोडदेखि संसद सदनका कुर्सी तोडफोड गर्नेसम्मको राजनीति संगै गरौला ।

अपवादलाई उदाहरण बनाई गैह्रमानवीय र संवेदनाहीन संस्कारलाई प्रशय दिने काम बन्द गरौं ।

राजनीतिक सभामा विकासको नमुनाको उदाहरण दिने गरेका देश बिद्रोह र बलिदानले मात्र सजिएका होइनन् ।

बरु पार्टी नीतिले होइन, राज्यको स्थिर नीति र जनताको बौद्धिकता र बाहुबलले सम्भव भएको हो । देश बनाउन वा परिवर्तन गर्न बिद्रोह र बलिदान दिनुपर्छ भन्ने सोचमा परिवर्तन ल्याउ ।

एक पटक मात्र सौभाग्यवस मिलेको एउटा अमूल्य जिवन संसारको कुनै परिवर्तन र उपलब्धिभन्दा माथि हुन सक्दैन ।

अन्त्यमा, वाह ! राजनिति, तिमी महान छौ । मेरो पनि बाध्यताको सम्मान छ तिमिलाई । तर मलाई कार्यकर्ता सम्झेर जनता नभनिदेउ ।

म त पार्टीको अस्थायी कार्यकर्ता जनता होइन । विशुद्ध देशको स्थायी जनता हुँ । त्यसैले मलाई हरेक दिनको राजनीतिक सभामा जनता भनि राख्नु ।

सूर्य र चन्द्रलाई औंलाले इंगित गरेर सुर्य चन्द्रको परिचय दिए जस्तै हो, जसको परिचय आवश्यक होइन, अटल छ ।

बुझेर वा नबुझेर राजनीतिमा आस्था राखि आबद्ध भएका विद्वान मित्रहरुलाई यो खुराक अलिक पिरो लाग्न सक्छ, रिसानि माफ गरिबक्सेला ।

प्रतिक्रिया

TOP