
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक कार्यक्रममा भनेका कुरालाई बंग्याएर अवहेलनाको मुद्धा दायर भएको जीकिर गरेका छन् ।
बिहीबार सर्वाेच्च अदालतमा अवहेलना मुद्धाको लिखित जवाफ पेस गर्न उपस्थित भएका ओलीले आफूले सधैं अदालतको सम्मान गर्दै आएको दावी गरे ।
‘नेपालको संविधानको धारा १२८ को उपधारा (४) बमोजिम न्याय सम्पादनमा अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा मात्र सम्मानित अदालतबाट अदालतको अवहेलनामा कारबाही हुने हो । निवेदन दाबीमा मबाट न्याय सम्पादनमा अवरोध गरेको वा अदालतको आदेशको अवज्ञा गरेको भन्ने उल्लेखसम्म छैन,’ ओलीले लिखित जवाफमा भनेका छन्, ‘मैले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलामा सम्मानित सर्वोच्च अदालतमा मैले पेश गरेको लिखित जवाफ सम्बन्धमा आफ्नो भनाई राखेको हुँ र त्यसमा बोलिएका केही शब्द तथा वाक्य उल्लेख गरी पूरा शब्द तथा वाक्यलाई नहेरी मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी ढंगले बीच बीचबाट शब्द निकाली फूलबुट्टा भरी प्रस्तुत निवेदन गरेको देखिन्छ । तसर्थ निवेदन दाबी नै दूषित छ ।’
प्रधाानमन्त्री ओलीले कुनै पनि वक्ताको पूरा वक्तव्यलाई आधार बनाई त्यसको शब्द या आशयको अर्थ निकाल्नुपर्नेमा जोड दिएका छन् । ‘आफू अनुकूल शब्द वा वाक्यको अर्थ मात्र लगाउन खोजेमा त्यसबाट वक्ताको वक्तव्यको वास्तविक आशय फेला पर्दैन। वास्तविक आशय फेला नपारी आफूखुसी अर्थ लगाई दायर निवेदन न्याय प्राप्तिको उद्देश्यको लागि नभै अन्य आशयबाट प्रेरित भएको स्पष्ट हुन्छ,’ उनले भने ।



प्रतिक्रिया