पार्टीकै नेताहरुले मेराविरुद्ध भ्रम फैलाउने काम गरेका छन् : देउवा

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरुले आफ्ना बारेमा गलत अपवाह फैलाउने काम गरेको बताएका छन् ।

उनले सार्वजनिक रुपमा भ्रम फैलाएर आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । संसद विघटनको विषयमा आफूलाई संसद पुनस्र्थापनाको विरोधीका रुपमा प्रचार गर्न खोजेको देउवाको गुनासो छ ।

‘मलाई पार्टीकै नेताहरुले संसद पुनर्स्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोपहरु लगाउने काम भएका छन्,’ केन्द्रीय समिति बैठकमा देउवाले भने, ‘मैले संसद पुनस्र्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो ।’

केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा जंगिएका हुन् ।

नेता पौडेलले सभापति निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने ।

पौडेल बोलिरहेकै बेला बीचमै उनलाई रोक्दै देउवाले भने, ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’

आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा राख्दै देउवाले निर्वाचन हुनैसक्दैन भनेर पार्टीकै नेताहरुले सार्वजनिक रुपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति पनि असुन्तुष्टि जनाए ।

कांग्रेस सभापति देउवाले अदालतको फैसला स्वीकार गरेर जाने बताउँदै आएका छन् ।

उनले सडकमा भीड जम्मा गरेर अदालतलाई प्रभावित पार्ने काम गर्न नहुनेमा जोड दिँदै आएका छन् ।

साथै देउवाले लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नहुने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया

TOP