बुधबार, मंसिर २२ २०७८

३ असोजमा राजदूतको त्यो ‘एक्सन इन्ट्री’

३ असोजमा राजदूतको त्यो ‘एक्सन इन्ट्री’


Nepal Manch
असोज ३ २०७८, आइतबार

काठमाडौं:दुई दिनअघिबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनलाई बेहुलीझैँ सिंगारिएको थियो ।

शीतलनिवासबाट संविधानसभा भवनसम्म राष्ट्रपति डा.रामवरण यादवको बग्गीसहित गरिने सवारीको रिहर्सलले अघिल्लो दिन नै राजधानीवासीमा संविधान जारीको रौनकमा उत्साह थपेको थियो ।

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टरको शक्तिशाली भूकम्प गएपछि एकाएक प्रमुख राजनीतिक दलहरू संविधानसभाबाट संविधान जारी गर्न राजी भए ।

जसअनुसार ३ असोज ०७२ मा संविधानसभाबाट संविधान जारी गर्ने तयारी गरियो ।

संविधान निर्माणका क्रममा उठेको विवाद समाधान गर्दै, पारित गर्न बनाइएका केही नियम निलम्बन गर्दै ३० भदौ ०७२ मा संविधानसभाले संविधानका सबै धारा एकमुष्ट ९१ प्रतिशत बहुमतका साथ पारित ग¥यो ।

संविधासभाले पारित गरेको संविधान ३ असोज ०७२ मा संविधानसभा बैठकमार्फत राष्ट्रपति यादवले घोषणा गर्ने कार्यक्रम तय गरियो ।

संविधानसभा घोषणा कार्यक्रमका लागि संविधानसभा भवनसहित काठमाडौं मुख्य चोकहरू सिंगारिएको थियो ।

संविधानसभा भवनको चारैतिर रंगीचंगी बत्ती जडान गरिएको थियो भने भवनको पूर्व, दक्षिण र पश्चिम दिशातर्फ फूल र घडाहरू राखेर आकर्षक बनाइएको थियो ।

देश–विदेशबाट चासोका साथ हेरिएको संविधान घोषणा कार्यक्रम भने कांग्रेसका प्रदीप गिरि, माओवादीका प्रभु साह र मधेसवादी दलका सभासद्हरूले बहिस्कार गरेकाले खल्लो महसुस गराएको थियो ।

संविधानको विपक्षमा राप्रपा नेपालका २५ सभासद्ले हस्ताक्षर गरेका थिए ।

देशभित्रबाटै जारी हुन लागेको संविधानलाई लिएर असन्तुष्टि सार्वजनिक हुने क्रम बढेको थियो ।

संविधान जारी गर्नबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले भरपूर प्रयास गरेका थिए ।

उनी आउनुअघि नै नेपालका लागि भारतीय राजदूत रञ्जित रायले दलहरूमा दबाब सृजना गरेका थिए ।

तर, उनको प्रयास निरर्थक भएपछि जयशंकर काठमाडौं आएका थिए । उनको पनि केही सीप लागेन ।

यस अवस्थामा जारी हुन लागेको संविधान घोषणा कार्यक्रमप्रति नेपालीको मात्रै होइन, अन्तर्राष्ट्रिय जगतको पनि ध्यान खिचेको थियो ।

३ असोज ०७२ मा बिहानैदेखि संविधानसभा भवनमा चहलपहल थियो ।

मध्यान्हसम्ममा संविधानसभा भवन परिसरमा मानिस र सवारीसाधनको चाप थियो ।

भवन बाहिर हजारौँ नागरिक जम्मा भइसकेका थिए ।

दिउँसोबाट संविधान घोषणा कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू आउनेक्रम सुरू भयो ।

उनीहरूलाई बैठक कक्षको बाल्कोनीमा बस्ने व्यवस्था मिलाइएको थियो ।

मर्यादापालकहरू आएका कूटनीतिक नियोगका प्रतिनिधिलाई भवन प्रवेशको मुख्य द्वारसँगै रहेको पश्चिमतिरको प्रवेश द्वारबाट स्वागत गर्दै प्रवेश गराइरहेका थिए ।

अधिकांश कूटनीतिक नियोगका प्रतिनिधि आइसकेका थिए । तर, चासो थियो– भारतीय राजदूतको । संविधान घोषणा कार्यक्रममा सहभागी हुन आएका कूटनीतिक नियोगका प्रतिनिधिहरू सामान्य शैलीमा उपस्थित भएका थिए । अधिकांश कूटनीतिज्ञ एउटै गाडीमा आएका थिए ।

दिन ढल्किँदै गर्दा आकाशमा लागेको बादलले रात पर्न लागेको भान पारिरहेको थियो ।

साँझ ५ बजे संविधान जारी भएको घोषणा गर्ने भनिए पनि विभिन्न कारणले ढिलाइ भइरहेको थियो ।

यसै कारणले होला भारतीय राजदूत राय पनि अरू कूटनीतिज्ञको तुलनामा ढिलै आए ।

तर, उनको आगमन साउथ इन्डियन फिल्मको हिरोको प्रवेश बिर्साउने खालको थियो ।

उनी सवार गाडीसँगै अरु दुई–तीनवटा गाडी आएका थिए ।

राजदूत सवार गाडी रोकिनेवित्तिकै पछाडि रहेका गाडीमा सवार कालोकोट पाइन्ट, चस्मा लगाएका अंगरक्षक उत्रिँदै दौडिएर अगाडि आए ।

राजदूतलाई घेरा हालेर सुरक्षा दिए । चारैतिर आफ्नै सुरक्षाकर्मीले सुरक्षा दिए पनि राजदूत रायको अनुहार भने मलिन थियो । कारण, उनैले जानून् । तर, उनलाई अंगरक्षकले अघि बढाउन खोज्दा संविधानसभाका मर्यादापालक आएर स्वागत गरे । राजदूत मुसुक्क हाँसे ।

अरु कूटनीतिज्ञलाई झैँ मर्यादापालक अलि झुकेर उनलाई संविधासभा भवनभित्र प्रवेश गराउन अघि बढाए, सँगैसँगै चार–पाँचजना राजदूतको सुरक्षामा खटिएका सादा पोसाकका सुरक्षाकर्मी पनि अघि बढे ।

उनीहरूलाई भवनभित्र प्रवेशको अनुमति नरहेको मर्यादापालकले बताए ।

तर, उनीहरू राजदूतसँगै भित्र जान खोजिरहेका थिए । केहीबेर मर्यादापालकसँग कुराकानीपछि उनीहरू फर्किए र संविधानसभा भवन बाहिरको प्रांगणमा बसे ।

साँझ ५ बजेर ५० मिनेटमा राष्ट्रपति यादवको सवारी भयो । उनको प्रवेशसँगै बैठक कक्ष र बाहिर निकै चहलपहल भयो ।

बैठक कक्षको दृश्य प्रोजेक्टरमार्फत बाहिर बसेकालाई हेर्ने व्यवस्था मिलाइएको थियो ।

राष्ट्रपति यादवले करिब ५ बजेर ५६ मिनेटमा संविधानको प्रतिलाई ढोगेर संविधानसभाबाट निर्मित संविधान लागू भएको घोषणा गरे ।

त्यसपछि राष्ट्रपति र सभाध्यक्ष सुवास नेम्वाङको सम्बोधनपछि घोषणा कार्यक्रम समापनमात्रै भएन, संविधासभा पनि स्वतः विघटन भयो ।

संविधान जारी भएको घोषणाको दिन तराई मधेसमा ‘ब्ल्याक आउट’ गरिएको थियो भने बाँकी स्थानमा दीपावली गरेर स्वागत गरिएको थियो ।

सोही दिनबाट देखिएको असन्तुष्टिको ग्राफ सातौँ वर्षमा प्रवेश गर्दा पनि ओरालो लागेको छैन ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट