
इन्डियन प्रिमियर लिग आइपीएलको अक्सनको सूची सार्वजनिक भएको छ । जसमा नेपाली खेलाडी सन्दिप लामिछानेको मुल्य ४० लाख भारतीय रुपैयाँ रहेको छ ।
फेब्रेवरी १८ तारिखमा चेन्नेईमा हुने अक्सनका लागि खेलाडीको बेस प्राइस बढिमा दुई करोड भारतीय रुपैया राखिएको छ ।
दुई करोड भारतीय रुपैयाँको सूचीमा हरभजन सिंह र केदार जादव छन भने आठ विदेशी खेलाडी छन । त्यसमा ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, सकिव अल हसन, मोयन अली, साम विलिङ, जेसोन रोय, मार्क उड रहेका छन ।
यस्तै १२ खेलाडीको बेस प्राइस एक करोड ५० लाख रुपैयाँ रहेको छ । यस्तै एक करोड बेस प्राइस रहेको सूचीमा ११ खेलाडी छन । जसमा भारतीय खेलाडीमा हनुमान विहारी, उमेश यादव छन ।
अक्सनमा एक सय ६४ इन्डियन खेलाडी छन भने एक सय २५ विदेशी खेलाडी छन । तीन खेलाडी एसोसियटका रहेका छन ।
७५ लाख भारतीय रुपैयाँमा बेस प्राइसमा १५ जना छन । सबै विदेशी खेलाडी रहेका छन । यस्तै ५० लाख बेस प्राइस रहेको सूचीमा ६५ जना खेलाडी छन । जसमा ५२ विदेशी र १३ भारतीय खेलाडी छन ।
अक्सनमा कुल ३९ सेट हुनेछन । त्यसमा सन्दिपको नाम १० औं सेटमा आउने भएको छ ।
एसोसियटमा सन्दिपसँगै अमेरीकी तिब्र गतिका बलर अली खान र यूएई स्पिनर कार्तिक मयप्पन छन । कार्तिकको बेस प्राइस २० लाख रुपैया राखिएको छ ।
नेपालबाट आइपीएलका अक्सनका लागि आठ जनाको नाम दर्ता भएको थियो ।
अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए ।
प्रतिक्रिया