विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

विराटनगर : मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो ।

मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो ।

शिक्षक हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको थियो ।

संखुवासभा मादी नगरपालिका ४ का ३५ वर्षीय धनबहादुर विक, कपिलवस्तु शिवराज नगरपालिका-९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द, रोल्पा थवाङ गाउँपालिका-१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर, कालिकोटका नरहरीनाथ गाउँपालिका-६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), जाजरकोटका ४२ वर्षीय दीपक चलाउनेविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

गत मङ्सिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । हत्यापछि नेपाल कम्युनिष्ट पार्टीका विप्लव समूहले विज्ञप्ति प्रकाशित गर्दै घटनाको जिम्मा लिएको थियो ।

विप्लव समूहको नेकपाका महासचिव विप्लवको निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोग पत्रमा दाबी गरिएको छ ।

सो मुद्दामा मंगलबारबाट थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया

TOP