
घोराही : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको अधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सरकारले बैशाखमा घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन मंसिरमा सर्न सक्ने संकेत गर्दै कोइरालाले पार्टी महाधिवेशनमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
‘निर्वाचनको पछि नलाग्नुस’ नेपाली कांग्रेस दाङले सोमबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुलाई भने ‘मध्यावधि निर्वाचन सर्न पनि सक्छ ।’
महामन्त्री कोइरालाले पार्टीको अधिवेशनमार्फत् सहि नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याए । पहिले पार्टीको अधिवेशन गरेर सहि नेतृत्व चुन्नुस्’ सभामा उनले भने ‘त्यसपछि कांग्रेसले निर्वाचन जित्छ ।’
नेपाली कांग्रेस एक जुट भएमा कसैसंग मिल्नु नपर्ने उनको भनाई थियो । ‘नेपाली कांग्रेसको आफ्नै ईतिहास छ, सिद्धान्त छ’ उनले भने ‘निर्वाचनको लागि कसैसंग मिल्नुपर्ने आवश्यकता छैन् ।’
उनले गत निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टी सभापतिको मात्रै दोष नभएको स्पष्ट पारे । ‘गत निर्वाचनमा पराजित हुनुमा हाम्रा पनि कमिकमजोरी छन्’ उनले भने ‘फेरी त्यहि गल्ती दोहोर्याउनु हुदैन ।’
महामन्त्री कोइरालाले कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरे । उनले दाङ गृहजिल्ला भएका स्वर्गीय नेता खुमबहादुर खड्कालाई सम्झिए ।
कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले निर्वाचनमा जित्नको लागि वडा–वडामा पार्टी बलियो बनाउनु पर्ने बताए ।
‘पार्टीको बलियो आधार वडा हुन्’ उनले भने ‘त्यसलाई मजबुत बनाएर अगाडि बढ्नुपर्छ ।’
अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कम्युनिष्टको नौटंकीमा नभुल्न अनुरोध गरे । कांग्रेसको नेतृत्वमा नेको संविधानको रक्षाको लागि पार्टी एक हुनु पर्नेमा उनको जोड थियो ।
कांग्रेस दाङले घोराहीमा नेकपा सरकारको असंवैधानिक कदमको विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनमा ठूलो संख्यामा कांग्रेस नेता कार्यकर्तासँगै शुभेच्छुक सहभागि थिए ।
सभालाई कांग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, आमन्त्रीत केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया