निर्मला पन्त र भागरथी भट्टका हत्यारा पक्राउ गरिछाड्ने प्रधानमन्त्री ओलीको दावी

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका छन् ।

नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने दाबी गरे ।

‘हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए ।

‘तपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

TOP