
काठमाडौं : गृह मन्त्रालयले सरकारका पूर्वपदााधिकारीको सुरक्षामा आवश्यकताभन्दा बढी संख्यामा सुरक्षाकर्मी खटिएको भन्दै फिर्ता बोलाउन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुने बित्तिकै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरक्षा थ्रेट भएको भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरी उपलब्ध गराएको थियो ।
तर पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै जाँदा पार्टी फुटसम्म पुगेपछि सरकारले प्रचण्डको सुरक्षामा खटिएका करिव ६० सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ ।
प्रचण्डको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ ।
सरकारको पछिल्लो निर्णयलाई कतिपयले नेकपाको विवादको प्रतिशोधका रुपमा पनि अर्थ्याएका छन् । सरकार आफैले प्रचण्डलाई सुरक्षा थ्रेट रहेको भन्दै उपलब्ध गराएका सुरक्षाकर्मी नेकपा विवादसँगै फिर्ता बोलाउनु स्वभाविक निर्णय नभएको कतिपयको विश्लेषण छ ।
नेकपाभित्र विवाद बढ्दै गएको र पछिल्ला समय पूर्वमाओवादी निकट नेता र लडाकूहरु प्रधानमन्त्री केपी शर्मा समूहमा जाँदा प्रचण्डलाई थप सुरक्षा चूनौति रहेको आकलन भइरहेका बेला गृहमन्त्रालयले भने सुरक्षाकर्मी फिर्ता बोलाएको हो ।
मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा तैनाथ प्रहरीका २६ र सशस्त्रका ३१ सुरक्षाकर्मी तथा प्रहरीको एउटा अगुवा गाडी फिर्ता गरिएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका ३ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा तैनाथ १ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् ।
पछिल्लो कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्र प्रहरीबाट पछुवा पिकअप भ्यान र १६ प्रहरी तथा अंगरक्षकका रूपमा २ जना नेपाल प्रहरी खटाइने उल्लेख छ ।
देउवा र नेपालको सुरक्षामा सशस्त्रका क्रमशः १९ र १७ जना सुरक्षाकर्मी खटिँदै आएका थिए । प्रहरीका अंगरक्षक भने यथावत् राखिएको छ ।
प्रतिक्रिया