चौपत्ता अस्पताललाई धुलिखेल अस्पतालको आउटरिच सेन्टर बनाइने

काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ मा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल) लाई धुलिखेल अस्पतालको आउटरिच सेन्टरको रुपमा सञ्चालन गर्ने तयारी भएको छ । पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीको पहलमा धुलिखेल अस्पतालले आउटरिच सेन्टरका रुपमा सञ्चालन गर्न तयार भएको हो । सांसद चौधरीको आग्रह अनुसार धुलिखेल अस्पतालका चिकित्सकको एक टोली अस्पतालको अवलोकनका लागि आज नवलपरासी पुगेको छ ।

स्वास्थ्य सामग्री राम्रो भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको चौपत्ता अस्पताललाई सांसद चौधरीले नेपालकै ख्यातिप्राप्त अस्पताललाई आउटरिच सेन्टरका रुमपा सञ्चालन गर्न पहल गरेका थिए । उनले यो क्षेत्रकै मात्र नभएर वरिपरीका जिल्लाका नागरिकका लागि पनि राम्रो स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । यसअघि सांसद चौधरीकै पहलमा चौपत्ता अस्पताललाई ६ वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो ।

डायलासिस मेसिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लव अफ धुलिखेलले उपलब्ध गराएको हो । यसका लागि धुलिखेल अस्पतालले प्राविधिक सहयोग गरेको हो।

शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेण्डा बनाएका सांसद चौधरीले निर्वाचनका समयमा सो अस्पताललाई त्यस क्षेत्रकै एउटा नमूना र रिफरर अस्पतालको रुपमा संचालन गर्ने घोषणा गरेका थिए । सांसद चौधरीको सचिवालयका अनुसार धुलिखेल अस्पतालको टीमले चौपत्ता अस्पतालको भौतिक अवस्थादेखि अन्य पूर्वाधारका विषयमा अवलोकन गर्नेछ । धुलिखेल अस्पतालको आउटरिच सेन्टरका रुपमा सञ्चालन भए चौपत्तामा भर्ना हुने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यहाँ उपचार हुन नसकेका विरामीहरूलाई धुलिखेल अस्पतालमा उपचार गरिनेछ ।

सांसद चौधरीकै पहलमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको काँचुली फेरेको छ भने बर्दघाटमै ट्रमा सेन्टर निर्माण कार्य भइरहेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा बन्न लागेको हो ।

प्रतिक्रिया

TOP