नयाँ वर्षको पहिलो दिन सेयर बजारमा उत्साह, नेप्से २७ अंकले उकालो

काठमाडौं : नयाँ वर्ष २०८२ को सुरुवाती कारोबारले सेयर लगानीकर्तालाई उत्साह दिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २७.१४ अंकले वृद्धि भएर २६८९.२२ विन्दुमा पुगेको छ। पहिलो कारोबार दिनमै ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो।

कुल २ करोड १८ लाख कित्ता सेयर कारोबार हुँदा २१२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ वटामात्र घटेका छन्।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर पनि क्रमशः ९.९९ र ९.९८ प्रतिशतले उकालो लागेको छ।

बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटे पनि यो कम्पनी नै कारोबारको अग्रस्थानमा रहेको छ। बलेफीको एकैदिन २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोड, राधी जलविद्युतको ३६ करोड, सीईडीबी होल्डिङ्सको ३२ करोड र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्से सूचकअनुसार आज सामूहिक लगानी र व्यापार समूहको सूचक मात्र घटेको छ भने बाँकी सबै सूचकहरू हरियाली देखिएका छन्।

प्रतिक्रिया

TOP