ओली र देउवाबीच सरकारको प्रभावकारिताबारेमा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ। सत्तारूढ गठबन्धनभित्रैबाट सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनिँदै आइरहेका बेला दुई शीर्ष नेताबीच बिहान ११ बजे छलफल भएको हो।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार भेटमा सरकारका गतिविधि थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको हो। “संयुक्त संयन्त्रको बैठक बोलाउने विषयमा पनि कुरा भएको छ,” उनले बताए।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने यो भेटलाई नियमित संवादको निरन्तरता भएको बताए। उनका अनुसार दुई नेता करिब ४५ मिनेटसम्म बैठकमा बसेका थिए। सत्तारूढ गठबन्धनमा कांग्रेसका केही नेताहरूले सरकारको गति र प्रभावकारिता प्रति खुलेर आलोचना गरिरहेका बेला शीर्ष नेताहरूबीचको यो छलफललाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

TOP