
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकारले गम्भीरता नदेखाएकोमा आपत्ति जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा हेर्नु सरकारको ठूलो भूल हुने चेतावनी दिएका छन्।
साउदले भनेका छन्, “नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत २० देखि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्। आन्दोलन सुरु भएको १४ दिन बितिसक्दा पनि सरकारले सम्बोधन गर्न कुनै ठोस पहल नगर्नु अत्यन्त आश्चर्यजनक र दुर्भाग्यपूर्ण हो।”
उनका अनुसार आन्दोलन थप चर्किंदै जाँदा एसईई उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा बहिष्कार जस्ता कठोर कदमले शैक्षिक क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्छ। यस्तो अवस्थामा सरकारलाई समयमै समाधान निकाल्न साउदले आग्रह गरेका छन्।
“विगतमा सरकारले महासंघसँग गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने हो,” साउदले लेखेका छन्, “हाम्रो पार्टी कांग्रेसले सम्बन्धित निकायसँग बारम्बार पहल गर्दा पनि आजसम्म कुनै नतिजा नआउनु दुःखद हो।”
उनले चेतावनी दिएका छन्, “यदि सरकारले आन्दोलन चाँडै समाधान नगरे, नेपाली कांग्रेसले यस विषयलाई गम्भीरतापूर्वक लिएर निर्णायक भूमिका निर्वाह गर्न ढिलाइ गर्नु हुँदैन।”
प्रतिक्रिया