सुदूरपश्चिमको मौलिक भाषा लोप हुँदै जानु समाजको कमजोरी हो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिक भाषा लोप हुँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

देउडा समाज केन्द्रीय कार्यालयद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित देउवाखेल तथा अभिनन्दन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले भाषा हराउँदै जानु समाज विखण्डनतर्फको संकेत भएको बताए।

“जुन समाजको भाषा हराउँछ, त्यो समाज कमजोर हुन्छ,” देउवाले भने, “आज हामी आफ्नै भाषा बोल्न छाड्दै गएका छौं। धेरैले आफ्ना सन्तानसँग अंग्रेजीमा बोल्न थालेका छन्, जुन चिन्ताजनक हो।”

देउवाले विश्वभर भाषा जोगाउने अभियान चलिरहेको बताउँदै सुदूरपश्चिमको भाषा र संस्कृतिको संरक्षणका लागि सबैले साझा प्रयास गर्नुपर्ने धारणा राखे। “भाषा मात्र होइन, संस्कृति पनि जोगाउनु आवश्यक छ,” उनले भने, “हामीले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउँदै आएका छौं, यसलाई निरन्तरता दिनुपर्छ।”

उनले सुदूरपश्चिमको पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे।

प्रतिक्रिया

TOP