
काठमाडौं : कुवेतले नेपाली क्रिकेटमाथि पहिलो पटक ऐतिहासिक जित दर्ता गर्दै हङकङ टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि आफ्नो पक्षमा पारेको छ। आइतबार मोङ कोकस्थित मिसन रोड मैदानमा भएको फाइनलमा कुवेतले नेपाललाई ३ रनले हराउँदै पहिलो पटक टी–२० मा नेपालविरुद्ध विजय हात पारेको हो।
नेपालले यसअघि भएका दुवै खेलमा कुवेतलाई सहजै हराए पनि फाइनलमा भने लय कायम राख्न नसक्दा हार बेहोर्नुपर्यो।
१७५ रनको लक्ष्य पछ्याउँदै नेपाल १९.३ ओभरमा १७१ रनमै समेटिएको थियो। बसिर अहमदको ८० रन र नन्दन यादवको आक्रामक ३७ रनको इनिङ्स पनि नेपालको हार टार्न पर्याप्त हुन सकेन। यी दुईबीच नवौं विकेटका लागि ७३ रनको संघर्षपूर्ण साझेदारी भए पनि अन्तिम तीन बलमा तीन रन आवश्यक रहँदा बसिर क्याच आउट भएपछि नेपालको जितको आशा चकनाचुर भयो।
कुवेतका अनुदीप चेन्थमाराले १८ रन खर्चेर ३ विकेट लिए भने यसिन पटेल र नवीनराज राजेन्द्रनले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। ओपनर रवीजा सान्दारुवानले ६३ रन बनाए भने क्लिन्टो एन्टोले २६ रनको योगदान दिए।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने करण केसी र कुशल भुर्तेलले १–१ विकेट झारे। फाइनलमा हारसँगै नेपालले सिरिज जित्ने अवसर गुमायो भने कुवेतले ऐतिहासिक जित दर्ता गर्दै उपाधि उचाल्यो।
प्रतिक्रिया