उपाधिका लागि नेपाललाई कुवेतले दियो १७५ रनको चुनौती

काठमाडौं : हङकङमा जारी टी२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा कुवेतले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ। मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो।

कुवेतले आक्रामक सुरुआत गरे पनि नेपाली बलरहरूको उत्कृष्ट पुनरागमनपछि कुवेती स्कोर अपेक्षा अनुसार अगाडि बढ्न सकेन। पावर प्लेमा कुवेतले ७१ रन बनाएको थियो, जुन नेपालले टी२०आईमा पावर प्लेमा दिएको अहिलेसम्मकै उच्च रन हो।

सुरुमा कुवेतको स्कोर २०० नजिक पुग्ने संकेत देखिए पनि नेपालले अन्तिम ११ ओभरमा मात्र ७४ रन खर्चेर कुवेतलाई १७४ मा रोक्न सफल भयो।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ६३ रनको शानदार पारी खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। क्लिन्टो अन्टोले २६, उस्मान पटेलले २३ र मिभ भवसारले १६ रनको योगदान दिए।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए। कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए। नेपाललाई उपाधि जित्न अब १७५ रनको चुनौती रहेको छ।

प्रतिक्रिया

TOP