
पाल्पा : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग निर्धारित समयमै सम्पन्न हुने दाबी गरेका छन्। सुरुङमार्गको निरीक्षणपछि बोल्दै उनले निर्माण कार्य जटिल र चुनौतीपूर्ण भए पनि सरकार प्रतिबद्ध रहेको बताए।
“सुरुङ निर्माण अन्य पूर्वाधारभन्दा निकै जटिल काम हो, तर यो योजना समयमै सम्पन्न हुनेछ,” पौडेलले भने, “यसले पूर्वाधार निर्माणमा एउटा नयाँ उदाहरण स्थापित गर्नेछ।”
उनले सुरुङ निर्माणले भविष्यमा अन्य आयोजना समयमा सम्पन्न गर्न प्रेरणा र दबाब दुवै दिने उल्लेख गरे। सरकार, भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय र निर्माण कम्पनी लगायत सबै सरोकारवाला निकायले समन्वय गर्दै कामलाई अघि बढाइरहेको जानकारी दिए।
अर्थमन्त्री पौडेलले सुरुङ निर्माणमा संलग्न सबै मजदुर, कर्मचारी र निर्माण व्यवसायीप्रति आभार प्रकट गरे। साथै, सुरुङ निर्माणपछि पहिरोको जोखिम कम हुने र यात्रा सुरक्षित हुने उल्लेख गरे।
“सुरुङको बाहिरी भागमा रकसेड निर्माण हुनेछ, जसले माथिबाट खस्ने पहिरो रोक्नेछ। राजमार्गमाथि छाना निर्माण गरिनेछ, जहाँबाट पहिरो छानाबाट बगेर बाहिरिने व्यवस्था गरिनेछ,” उनले भने।
साथै, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको स्तरोन्नति कार्यलाई पनि सरकारले उच्च प्राथमिकता दिएको पौडेलले बताए।
प्रतिक्रिया