लोकतन्त्रमा जनताको अदालतमा जान पार्टीहरु डराउनुहुँदैन : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसद विघटनसम्बन्धी मुदा अदालतमा विचाराधीन भएपनि कांग्रेस जनताका बीचमा जान नडराउने स्पष्ट पारे ।

उनले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरिसकेको उल्लेख गरे ।

‘हामीले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अप्रजातान्त्रिक भनेर निर्णय गरिसकेका छौं,’ उनले भने, तर हामी चुनावबाट टाढा जाँदैनौं । अदालतबाट राजनीतिक विवादको निरुपण हुने होइन कि जनताकै अदालतमा जानुपर्दछ ।’

पूर्वमन्त्री साउदले अदालतको निर्णय जस्तो आएपनि आफूहरुलाई स्वीकार्य हुने स्पष्ट पारे ।

‘अदालतले कस्तो फैसला गर्छ, त्यसमा हामीले यस्तो निर्णय गर भन्न मिल्दैन । अदालतको आदेशलाई सम्मान गर्दछौ । अदालतले यस्तो गर्नुपर्दछ, यस्तो गर्यो भने मात्रै हामी मान्छौं भन्ने कुरा पूर्वाग्रही हो वा दवाव हो,’ उनले भने ।

नेता साउदले दलहरु जनताकै बीचमा जान गठन भएको उल्लेख गर्दै कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनताको अदालतमा जान नडराउने बताए ।

‘हामी मूलत जनताकै अदालतमा जान गठन भएका हौं । प्रजातन्त्रमा जनताको अदालतमा जान डराउनुहुँदैन भन्ने हाम्रो धारणा हो,’ उनले भने ।

प्रतिक्रिया

TOP