
पोखरा: गण्डकी विश्वविद्यालयको नयाँ कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई कुलपति नियुक्त गरेका हुन्।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहिसकेका तिवारी अन्तिम तीन प्रतिस्पर्धीमध्येबाट छनोट भएका हुन्। उनीसँगै प्रा.डा. विश्वकल्याण पराजुली र सरोज कोइराला पनि कुलपतिका आकांक्षी थिए।
मुख्यमन्त्री पाण्डेले तिवारीलाई लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने व्यक्ति भन्दै विश्वविद्यालयलाई राजनीतिक प्रभावमुक्त बनाउने अपेक्षा व्यक्त गरेका छन्।
गण्डकी विश्वविद्यालय स्थापनाको सुरुदेखि नै राजनीतिक हस्तक्षेप र कर्मचारी स्थायीकरण जस्ता विषयमा विवादमा रहँदै आएको छ। हाल करारमा कार्यरत ७८ जना शिक्षक तथा कर्मचारीलाई स्थायी बनाउने प्रक्रियाबारे अदालतमै मुद्दा विचाराधीन रहेको छ।
पोखरा विश्वविद्यालयमा डिन र उपकुलपति भइसकेका तिवारी एक स्वतन्त्र अनुसन्धानकर्ता तथा मानवबस्ती विकासका विज्ञ हुन्। उनले भूगोलमा एमए, मानवबस्ती विकासमा एमएससी र ग्रामीण तथा क्षेत्रीय विकास योजनामा थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पीएचडी गरेका छन्।
कुलपति छनोट समितिको संयोजकत्व प्रा.डा. कैलाशनाथ प्याकुरेलले गरेको थियो। सदस्यमा लोक सेवा आयोगकी कल्पना लम्साल र डा. यमुना घले रहेका थिए। ७ जना उम्मेदवारबाट ५ जनाको नाम स्वीकृत भई ३ जनाको नाम अन्तिम प्रतिस्पर्धामा पुगेको थियो।
प्रतिक्रिया