तीनकुने हिंसाका अभियुक्त दुर्गा प्रसाई भारतमा पक्राउ, नेपाल ल्याइदैँ

काठमाडौं: तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाई भारतको आसाममा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनी झापाको काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छन्।

प्रसाईको परिवारले पनि उनी प्रहरी सम्पर्कमा पुगेको पुष्टि गरेको छ। तर, परिवारका अनुसार उनी आफैं सुरक्षाका कारण आसाम प्रहरीले सम्पर्क गरेको र पक्राउ गरिएको नभएको दाबी गरिएको छ।

तीनकुने प्रदर्शनपछि फरार रहेका प्रसाईसँगै उनका केही सहयोगी पनि थिए, तर तीमध्ये केही अहिले आफैं नेपाल फर्कँदै छन्।

प्रसाई फरार भएपछि प्रहरीले उनको लोकेसन पहिचान गर्न विभिन्न माध्यम प्रयोग गर्दै आएको थियो। विशेष सूचनाको आधारमा नेपाल प्रहरीको विशेष ब्युरोको टोली भारत पुगेको थियो। उनी फरार भए पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा राखेका थिए, जसमा उनले आफू असुरक्षित भएकाले लुकेको दाबी गरेका थिए।

चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि २ जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा तोडफोड, आगजनी र लुटपाट भएको थियो। सोही दिन उनी समर्थकसहित एक घरको सटरमा लुकेर त्यहाँबाट झापा हुँदै भारत भागेका थिए।

प्रहरीले उनी भागेका बेला प्रयोग गरिएको गाडी प्रसाईकै झापास्थित बीएन्डसी मेडिकल कलेजमा फेला पारेको थियो। बी-ए-बी ४२०८ नम्बरको स्कोर्पियो अहिले काठमाडौंको टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।

प्रसाईका सहयोगी धर्मगुरु पुष्कर खतिवडा, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेर पनि सो दिनको प्रदर्शनमा सक्रिय रहेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। हालसम्म उनीहरूसहित झन्डै ७० जना पक्राउ परेर राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

TOP