नगर प्रहरी प्रमुखलाई निलम्बन गर्न महानगरका ५ कर्मचारी संगठनको माग

काठमाडौं : काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी तथा पेशागत संगठनहरूले ११ बुँदे मागसहित नगर कार्यपालिकाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले हालै भएको एक घटनालाई लिएर महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई कारबाहीको माग गरेका छन्।

चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्ष प्रवेशमा अवरोध पुर्‍याइएको घटनालाई “अनुशासनहीन, गैरकानूनी र अमर्यादित” ठहर गर्दै तीन दिनभित्र दोषीमाथि कारबाही र छानबिन समिति गठन गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा कर्मचारी संगठनका नेताहरूले प्रहरी प्रमुख पाण्डेलाई तत्काल निलम्बनमा राखी निष्पक्ष छानबिनको वातावरण बनाउन आग्रह गरेका छन्। उनीहरूको आरोपमा मेयरको सचिवालय र सल्लाहकारहरूले कर्मचारीविरुद्ध अफवाह फैलाएको र कार्यसम्पादनमा अवरोध पुर्‍याउने वातावरण सिर्जना गरेको उल्लेख छ।

स्थानीय तह कर्मचारी युनियन, संघ, परिषद्, यातायात मजदुर संगठन र सरसफाइ श्रमिक संघका प्रतिनिधिहरूले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा कानूनविपरीत गठन गरिएका समिति र संस्था खारेज गर्न पनि माग गरिएको छ।

कर्मचारी संगठनहरूले मेयर बालेन शाहसँग सुमधुर सम्बन्ध कायम राख्दै समृद्ध महानगर निर्माणमा सहयोग गर्न इच्छुक रहेको स्पष्ट गर्दै सबै पक्षलाई मर्यादित र कानुनी दायराभित्र रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

TOP