नेप्से ९.६६ अंकले उकालो, कारोबार रकम भने घट्यो

काठमाडौं : धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार ९.६६ अंकले उकालो लागेर २,६७६.२८ विन्दुमा पुगेको छ। बजार हरियाली भए पनि कारोबार रकममा भने मंगलबारको तुलनामा उल्लेखनीय गिरावट आएको छ। आज कुल चार अर्ब ४८ करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो, जुन मंगलबारको पाँच अर्ब ३० करोड ९५ लाख रुपैयाँको तुलनामा करिब ८२ करोड रुपैयाँले कम हो।

आज १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने लिबर्टी इनर्जीको मूल्य स्थिर रह्यो। मंगलबारदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य आज ९.९८ प्रतिशतले बढेर २६५ रुपैयाँ ७० पैसामा पुग्यो। विन लघुवित्तको सेयर मूल्य ७.९९ प्रतिशतले उकालो लागेर तीन हजार २३८ रुपैयाँ ५१ पैसामा पुग्यो।

सिन्धु विकास बैंकको सेयर मूल्य भने ७.४७ प्रतिशतले घटेको छ। १३ समूहमध्ये वाणिज्य बैंक र व्यापार समूहको परिसूचकमा गिरावट आएको छ। वाणिज्य बैंक समूह ०.०३ प्रतिशतले र व्यापार समूह ०.४० प्रतिशतले घटेको हो। उता, होटेल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

TOP