सडक संघर्षरत शिक्षकलाई सरकारद्वारा पुनः वार्ताका लागि आमन्त्रण

काठमाडौं : आफ्ना विभिन्न माग राख्दै ६ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकहरूलाई सरकारले पुनः वार्ताका लागि बोलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक प्रतिनिधिलाई वार्तामा सहभागी हुन आह्वान गरेको हो।

मन्त्रालयले चैत २१ र २२ गते पनि छलफलका लागि शिक्षक पक्षलाई आह्वान गरेको भए पनि औपचारिक रूपमा कुनै संवाद हुन नसकेको जनाएको छ। आन्दोलन जारी रहँदा समस्या समाधानका लागि अब २०७८ साल चैत २७ गते (बुधबार) वार्तामा सहभागी हुन आग्रह गरिएको हो।

विज्ञप्तिमा भनिएको छ, “हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर रहेको सन्दर्भमा राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारीलगायत सबै शिक्षक तथा कर्मचारीको प्रतिनिधित्व हुने गरी नेपाल शिक्षक महासंघलाई वार्तामा उपस्थित हुन पुनः आमन्त्रण गरिन्छ।”

वार्ताको समय तालिका भने आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

TOP