राप्रपाले गर्याे सरसफाइ, काठमाडौं महानगरले भन्यो– ‘यसपटक जरिवाना छैन, धन्यवाद छ’

काठमाडौं : काठमाडौं महानगरपालिकाले राप्रपाले मंगलबार आयोजना गरेको प्रदर्शनपछि सार्वजनिक स्थल सफा गरेकाले यसपटक जरिवाना नलगाउने निर्णय गरेको छ।

प्रदर्शनका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई फोहोर नगर्न निर्देशन दिँदै, काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) जरिवाना काट्न पर्खिरहेका छन् भन्ने टिप्पणी गरेका थिए।

तर, कार्यक्रम सकिएपछि राप्रपाले आफैँ फोहोर संकलन गरी स्थान सफा गरेकोमा मेयर बालेनले धन्यवाद ज्ञापन गरेका छन्। सामाजिक सञ्जालमार्फत फोहोर संकलन गरिरहेको तस्वीरसहित स्टाटस लेख्दै बालेनले लेखेका छन्, “कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरको चाहना हो। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।”

महानगरले यसपटकको कार्यशैलीलाई सकारात्मक संकेतका रूपमा लिएको छ।

प्रतिक्रिया

TOP