देशभर वायु प्रदूषण चुलिँदा जनस्वास्थ्यमा असर, जनजीवन असहज बन्दै

काठमाडौं : देशभर वायु प्रदूषण तीव्र बन्दै गएपछि आम नागरिकको दैनिकी असहज बन्दै गएको छ। वनमा लागेको डढेलो, कृषिकर्मपछि खेतबारीमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माण कार्यबाट उड्ने धुलोजस्ता कारणले वायुमण्डलमा प्रदूषण अत्यधिक बढेको हो।

यसका कारण विशेष गरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ। चिकित्सकहरूका अनुसार दम, एलर्जी, र फोक्सोका पुराना रोगीहरूका लागि अहिलेको वातावरण अत्यन्तै जोखिमपूर्ण छ।

बालबालिका, वृद्धवृद्धा, मुटु तथा मिर्गौलाका रोगीहरू, र कोभिड–१९ बाट प्रभावित फोक्सो भएका बिरामीहरूलाई विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

“हालको प्रदूषणले खोकी, सास फेर्न गाह्रो हुने, आँखामा पोल्नेजस्ता समस्या त ल्याउँछ नै, दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर पार्ने सम्भावना पनि छ,” एक श्वासप्रश्वास विशेषज्ञले बताए।

चिकित्सकहरूका अनुसार बिहानको व्यायाम र अनावश्यक बाहिरी गतिविधि कम गर्नुपर्ने समय हो। श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूलाई सकेसम्म घरमै बस्न र आवश्यक परेमा मास्कको प्रयोग गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया

TOP