वायु प्रदुषणले खतराको तह पार गर्‍यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ

काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण रुघाखोकी, आँखा पोल्ने, घाँटी खसखसाउने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर अस्पताल धाउने नागरिकको संख्या तीव्र रूपमा बढेको छ।

छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठका अनुसार पछिल्लो केही दिनमा वायुजन्य समस्याबाट पीडित बिरामीहरूको चाप अस्पतालमा उल्लेख्य रूपमा बढेको छ। “छातीको गम्भीर समस्या भएका केही बिरामीहरूलाई त आइसियुमा समेत राख्नु परेको छ,” उनले बताए।

संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी निकाय युएनईपीका अनुसार वायु प्रदूषणका कारण विश्वभर वार्षिक ७० लाख मानिसको ज्यान जाने गर्छ। यद्यपि काठमाडौंमा यसका कारण मृत्यु भएको पुष्टि नदेखिए पनि स्वास्थ्य समस्या भने विकराल बन्दै गइरहेको चिकित्सकहरूको चेतावनी छ।

डा. श्रेष्ठले वायु प्रदूषण विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा दीर्घरोगीहरूका लागि अझ खतरनाक भएको बताएका छन्। यसले श्वासप्रश्वास, मुटु, मिर्गौला लगायतका अंगमा दीर्घ असर गर्ने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

उनले अहिलेको प्रदूषणको अवस्था हेर्दा बिहानको मर्निङ वाक जस्तो सामान्य लाग्ने गतिविधिहरू पनि स्वास्थ्यका लागि घातक हुनसक्ने भन्दै घरमै व्यायाम गर्न सुझाव दिएका छन्।

“वायु प्रदूषणको स्तर खताराको सीमाभन्दा माथि पुगिसकेको छ,” उनले भने, “सरकारले तत्काल जनस्वास्थ्यका लागि ठोस निर्णय लिनुपर्छ। स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श गरेर गम्भीर कदम चालिनु आवश्यक छ।”

डा. श्रेष्ठले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरूले समय–समयमा स्वास्थ्य परीक्षण गर्न, पोषिलो खाना खान, र अत्यावश्यक अवस्थामा बाहिर जानुपरेमा एन९५ मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

TOP