प्रशासकीय अधिकृतको स्वागतमा डंगोल, निषेधमा मेयर बालेन साह

काठमाडौं: प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्ष प्रवेश गराउने विषयलाई लिएर काठमाडौं महानगरपालिकामा तनाव उत्पन्न भएको छ।

मेयर बालेन्द्र साहले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिन ताला लगाई नगर प्रहरी परिचालन गरेका छन्, भने उपमेयर सुनिता डंगोल गुरागाईंको स्वागतका लागि सक्रिय देखिएकी छिन्।

मेयर साहको आदेशमा लगाइएको ताला उपमेयर डंगोलसहित केही कर्मचारीहरूले फोड्ने प्रयास गरिरहेका छन्, जसले महानगरपालिकाको वातावरण थप असामान्य बनेको छ।

यसैबीच, उपमेयर डंगोलले मेयर शाहलाई समस्याको समाधान गर्न कोठाबाट आदेश दिने होइन, प्रत्यक्ष उपस्थित भएर संवाद गर्न आग्रह गरेकी छन्।

“मन्त्रालयबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउँदा झडप हुनु राम्रो होइन। कर्मचारीहरूबीच लडाइँ हुनु राम्रो होइन,” उनले भनिन्।

उनले गुरागाईं अहिलेसम्म दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने भन्दै, काठमाडौंवासीले प्रशासनिक अन्योलको मार खेप्न नपर्ने वातावरण बनाउनुपर्ने बताइन्।

“क्यान्सरपीडितलाई समेत आर्थिक सहयोग दिन सकेका छैनौं। छानबिन आवश्यक भए गरौं, तर प्रशासकीय अन्योल सिर्जना गरेर जनतालाई पीडामा राख्नु हुँदैन,” उपमेयर डंगोलले भनिन्।

उनले मेयर शाहलाई प्रत्यक्ष उपस्थित भएर समस्याको समाधान गर्न आग्रह गर्दै भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने? यदि मेयरको आदेश हो भने उनी अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन।”

प्रतिक्रिया

TOP