
काठमाडौं : शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन्। चैत ७ गतेदेखि १५ गतेसम्म भक्तपुरको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठीमिमा रिले अनशन गरेका शिक्षकहरू बुधबारदेखि सडकमा आएका हुन्।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै शिक्षकहरूले ‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’ जस्ता नारा लगाएका छन्। नेपाल शिक्षक महासंघका अनुसार उनीहरूको आन्दोलन अनिश्चितकालीन रहनेछ।
शिक्षकहरूले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐनको रूपमा जारी गर्न माग गरेका छन्। साथै, सरकारसँग यसअघि भएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ।
संसद्को हिउँदे अधिवेशन अन्त्य भइसकेपछि शिक्षकहरूको माग अन्योलमा परेको छ। गत असोजमा पाँच दिनसम्म चलेको शिक्षकको आन्दोलनपछि सरकारले सातबुँदे सहमति गरेको थियो। तर, सो सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्न बाध्य भएको शिक्षक महासंघले जनाएको छ।
प्रतिक्रिया