राप्रपाका सांसदले भने- ‘तीनकुने मञ्चमा राजाको फोटोसँगै दुर्गा प्रसाईंको फोटो देखेपछि हामी फरक्कै फर्क्याैं’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। बुधबार संसद्‌को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले घटनाको एकपक्षीय प्रचार भइरहेको दाबी गर्दै न्यायिक जाँच हुनुपर्ने बताएका हुन्।

“त्यस घटनाको तुरुन्तै न्यायिक छानबिन होस्। अहिले जुन किसिमले एकतर्फीरूपमा प्रचार भइरहेको छ, त्यो गलत छ। के–के गलत भइरहेको छ भन्ने कुरा समय आएपछि भनौँला,” उनले भने।

सांसद तामाङले आफूहरू पनि प्रदर्शनमा सहभागी हुन चाहेको तर मञ्चमा दुर्गा प्रसाईंको फोटो देखेपछि नगएको खुलाए।

“हाम्रो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीसहित हाम्रो समूह प्रदर्शनमा जाने तयारीमा थियो। तर, मञ्चमा राजाको फोटोसँगै दुर्गा प्रसाईंको फोटो देखियो। त्यही देखेर हामी गएनौँ,” उनले भने।

उनले प्रदर्शन सुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरिएको दाबी गर्दै घटनालाई एक पक्षलाई मात्र दोष दिएर हेरिनु गलत भएको बताए।

“कार्यक्रम सुरु हुँदै थियो, मान्छेहरू आउँदै थिए। त्यसैबेला मञ्चमा अश्रुग्यास प्रहार गरियो। तर, अहिले घटनालाई एकपक्षीय रूपमा हेरिँदैछ। यो न्यायसंगत छैन,” उनले भने।

सांसद तामाङले प्रमाणबिना आफ्ना पार्टीका नेताहरूलाई थुनिएको भन्दै आपत्ति जनाए।

“हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई कुनै ठोस प्रमाणबिना नै पक्राउ गरेर कानुनी कारबाही थालिएको छ। पहिला उहाँहरू दोषी हुन् वा होइनन् भन्ने पत्ता लगाउनुपर्छ,” उनले भने।

यस्ता घटनाहरू दोहोरिन सक्ने भन्दै उनले गृहमन्त्रीसँग भेटेर न्यायिक छानबिनको माग गर्ने  बताएका छन्। “भोलि अरूलाई पनि यस्तै हुन सक्छ। त्यसैले हामी गृहमन्त्रीलाई भेट्न जाँदै छौँ। सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ,” उनले भने।

प्रतिक्रिया

TOP