सुपा देउराली दर्शन गरेर फर्किने बेला बस दुर्घटना, चार जनाको मृत्यु

बुटवलः अर्घाखाँचीमा रहेको प्रसिद्ध तिर्थस्थल सुपा देउरालीको दर्शन गरेर फर्किने क्रममा यात्रुबाहक बस दुर्घटना भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका-२ भुवनपाटामा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् ।

त्यस्तै बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले मृत घोषणा गरेको छ ।

दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

TOP