
काठमाडौं : नेपालमा आँखा उपचार गराउने विदेशी बिरामीको सङ्ख्या बढ्दो छ। भारत, बंगलादेश, भुटानलगायत विभिन्न देशका नागरिक नेपालमा आँखा परीक्षण तथा शल्यक्रियाका लागि आउने गरेका छन्। नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल र २२४ आँखा उपचार केन्द्रमा हजारौँ विदेशी बिरामी उपचारार्थ आएका हुन्।
संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मा मात्रै संघको सञ्जालमार्फत ९ लाख ७ हजार ७१ विदेशी नागरिकको आँखा परीक्षण तथा १ लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको छ।
कुल रूपमा, सन् २०२४ मा नेपालभर ३२ लाख ६८ हजार ३४ बिरामीको आँखा परीक्षण गरिएको र २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको संघले जनाएको छ। संघले विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार ४२५ बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको छ।
संघले यो सेवा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहयोग र अस्पतालकै आन्तरिक स्रोत मार्फत निःशुल्क प्रदान गरेको हो।
संघले हालसम्म आफ्ना सञ्जालमार्फत ४ करोड ६८ लाख ६८ हजार ६० जनाको आँखा उपचार तथा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिएका छन्।
प्रतिक्रिया