राइस मिलको प्रदूषण: स्थानीयको स्वास्थ्यमा गम्भीर असर

सिरहा: सिरहाको गोलबजार-४ मा रहेको माँ धमिनी एग्रो राइस मिलको धुँवा र धुलोका कारण स्थानीयहरू स्वास्थ्य समस्याबाट पीडित भएका छन्। नियामक निकायको फितलो अनुगमनका कारण मिलबाट निस्कने कालो खरानी, धुँवा र धुलोले घर-आँगन, लत्ताकपडा, खाना र सागसब्जी समेत प्रदूषित भएको छ।

स्थानीयको गुनासो
स्थानीय सुमेश कुमार साहकाअनुसार, “पछिल्लो एक दशकदेखि मिलबाट निस्कने प्रदूषण नियन्त्रण गर्न सञ्चालक र सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि कुनै ठोस कदम चालिएको छैन।”

मो. इम्तियाज खानले घर बेचेर बसाइँ सर्नुपरेको बताउँदै भने, “धुलोले गर्दा घरमै बस्न सक्ने अवस्था छैन, वरन्डा र छत दिनहुँ सफा गर्नुपर्छ।” यस्तै, स्थानीय अताबुल रहमानले समस्या समाधान नभए मिलमा ताला लगाउने चेतावनी दिएका छन्।

मिल सञ्चालकको प्रतिक्रिया
राइस मिलका सञ्चालक महेश साह (कोकवा) ले मिल सञ्चालन हुँदा वरपर घर नबसेको भन्दै हालको समस्या स्वीकारे। उनले भने, “प्रदूषण कम गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छु।”

स्वास्थ्य जोखिम
गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णकाअनुसार, “धुँवाको लामो सम्पर्कले स्वासप्रस्वास समस्या, आँखा, छालाको रोग र दीर्घकालीन रूपमा क्यान्सरको जोखिमसमेत बढाउँछ।”

स्थानीयहरूले नियामक निकायमाथि आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण मिल सञ्चालनमा कुनै रोकतोक नभएको आरोप लगाएका छन्। समस्या समाधानका लागि उचित कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

TOP