मोरङ एमालेमा भण्डारी समूहको वर्चस्व, ओली पक्ष पराजित

काठमाडौं: नेकपा एमाले मोरङको आन्तरिक राजनीतिमा ठूलो परिवर्तन आएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जिल्ला नेतृत्वमा वर्चस्व कायम गर्दै केपी ओली समूहलाई पराजित गरेको छ।

ताजा निर्वाचन परिणामअनुसार अजम्बर राई जिल्ला अध्यक्षमा विजयी भएका छन्। उनले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरे। उपाध्यक्षमा सागर थापा, सचिवमा सन्तोष वान्तवा, उपसचिवमा उषा झा विजयी भएका छन्।

मोरङ एमालेमा लामो समयदेखि ओलीको दबदबा रहेको थियो। तर, पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै शक्ति सन्तुलन परिवर्तन भएको देखिन्छ। विशेषगरी, प्रभावशाली नेता विनोद ढकालले ओली समूह छोडेपछि मोरङ एमालेको राजनीतिक समीकरण फेरिएको हो।

एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो। ९११ जना प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए।

पदाधिकारीतर्फको मतगणना पूरा भइसकेको छ भने सदस्य पदको मतगणना शनिबारसम्म सकिने बताइएको छ। एमाले मोरङको नयाँ जिल्ला कमिटी १६५ सदस्यीय हुनेछ।

प्रतिक्रिया

TOP