फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला टिमकाे चार स्थान सुधार

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गरेको छ । फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो । नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो ।

नेपाली महिला टिमले हालैमात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो ।

वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औँ स्थानमा यथावत् छ । यस्तै, तेस्रो स्थानको बंगलादेश १३३औँ स्थानमा छ । चौथोमा रहेको पाकिस्तान १५७औँ, पाँचौँ स्थानको श्रीलंका १५८औँ, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र सातौँ स्थानको भुटान १७१औँ वरीयता क्रममा छन् । वरीयताको शीर्ष स्थानमा भने अमेरिका यथावत् छ ।

प्रतिक्रिया

TOP