‘गुमनाम’ रवि !

काठमाडौं: तीन महिना प्रहरी हिरासतमा बिताएका रास्वपा सभापति रवि लामिछाने फागुन ६ गते अदालतमा पहिलो तारेखका लागि उपस्थित भएयता ‘गुमनाम’ छन्। तीन महिनासम्म लगातार चर्चामा रहेका रवि हिरासतबाट छुटेपछि कानुनी लडाइँमै केन्द्रित छन्। उनी काठमाडौंको हात्तीगौंडास्थित निवासमा परिवारसँग समय बिताइरहेका छन् भने कानुनी परामर्श लिइरहेका छन्।

रास्वपाका कार्यबाहक सभापति डिपी अर्यालले दिएकाे जानकारीअनुसार लामिछाने कानुनी परामर्शमा व्यस्त छन्। ‘उहाँ न्यायिक लडाइँकै क्रममा हुनुहुन्छ। कानुनी प्रक्रियाबारे छलफल गर्दै हुनुहुन्छ। साथै, पार्टीको दीर्घकालीन योजना निर्माणमा पनि लाग्नु भएको छ। निरन्तर सम्पर्कमा हुनुहुन्छ,’ अर्यालले भने।

रवि विरुद्ध विभिन्न जिल्लामा मुद्दा

गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहँदा लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीसहित विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप छ। उनलाई कार्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो। कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

लामिछानेविरुद्ध कास्की, काठमाडौं, रूपन्देही, चितवन र पर्सामा मुद्दा चलिरहेको छ।

-कास्की जिल्ला अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुस ७ गते मुद्दा दायर गर्‍यो।
-काठमाडौं जिल्ला अदालतले पुस २१ मा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता गर्‍यो।
-रुपन्देही जिल्ला अदालतले माघ १३ मा एक करोड धरौटीमा छाड्न आदेश दियो।
-चितवन जिल्ला अदालतले साहारा चितवन सहकारी ठगी प्रकरणमा ५४ लाख धरौटीमा छाड्न आदेश दियो।

कास्की, काठमाडौं, रूपन्देही र चितवनमा धरौटीमा रिहा भए पनि पर्सामा भने अनुसन्धान लम्ब्याइएको छ। पर्सा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन ढिलो गरिरहेको छ। त्यसैले, लामिछानेको कानुनी लडाइँ अझै बाँकी छ।

प्रतिक्रिया

TOP