एसईई परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल, विद्यालयहरूसँग व्यापक असुली

सिरहा : आगामी चैत्र ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र तोक्न सिरहा शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारीहरूले निजी विद्यालयहरूसँग अवैध रूपमा पैसा असुलेको खुलासा भएको छ।

समन्वय इकाई प्रमुखकै निर्देशनमा परीक्षा शाखा प्रमुख विशाल साह कानुले निजी विद्यालयहरूसँग परीक्षा केन्द्र मिलाइदिने भन्दै ठूलो रकम उठाएको तथ्य बाहिर आएको हो।

विद्यार्थी संख्या अनुसार रकम असुली

विद्यालय सञ्चालकहरूकाअनुसार, १५ जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरूले प्रति विद्यार्थी रु. १,००० तिर्नुपरेको छ भने १५ भन्दा बढी विद्यार्थी भएका विद्यालयहरूले प्रति विद्यार्थी रु. ५०० तिर्न बाध्य पारिएको छ।

सिरहाका एक निजी विद्यालयका सञ्चालकले भने, “मेरो विद्यालयका ८५ जना विद्यार्थीका लागि मैले परीक्षा शाखा प्रमुख विशाल साह कानुलाई ४५ हजार रुपैयाँ दिएको थिएँ। तर, उनले परीक्षा केन्द्र निर्धारणमा बेइमानी गरे। यदि उनले मेरो रकम फिर्ता दिएनन् भने म पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्नेछु।”

अर्का निजी विद्यालय सञ्चालकले भने, “शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारीहरू जो आए पनि भ्रष्टाचारकै खेल खेल्छन्। घुस नबुझाए काम नै हुँदैन। विद्यालयहरू बाध्य भएर विद्यार्थीहरूबाट थप रकम उठाउनुपरेको छ।”

गोलबजारमा स्पष्ट अनियमितता

यस वर्ष सार्वजनिक गरिएको परीक्षा केन्द्र सूची अनुसार गोलबजार नगरपालिकामा चारवटा परीक्षा केन्द्र तोकिएको छ, जहाँ ७ सामुदायिक र १४ निजी विद्यालयका करिब ९५० विद्यार्थी परीक्षा दिनेछन्।

तर, यस नगरपालिकामा पर्याप्त ठाउँ हुँदाहुँदै पनि निजी विद्यालय र इकाईका कर्मचारीहरूले आर्थिक चलखेल गरी कतिपय विद्यालयका परीक्षा केन्द्रहरू पालिका बाहिर सारिएको छ, जसले परीक्षा केन्द्र निर्धारण प्रक्रियामा आर्थिक अनियमितता भएको स्पष्ट संकेत गर्छ।

अन्य नगरहरूमा पनि चलखेल

गोलबजार मात्र होइन, लहान, मिर्चैया, धनगढी र सिरहा सदरमुकामका नाम चलेका निजी विद्यालयहरूले पनि मनपर्ने परीक्षा केन्द्र पाएका छन्, जसले अनियमितता र घुसखोरीको पुष्टि गर्छ।

यही विषयमा शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक कलौनी र परीक्षा शाखा प्रमुख विशाल साहलाई सम्पर्क गर्दा दुवैको मोबाइल स्विच अफ रहेको पाइयो।

यस वर्षको परीक्षा व्यवस्थापन

एसईई २०८१ मा सिरहाबाट १०,७०३ विद्यार्थी सहभागी हुनेछन्। परीक्षालाई व्यवस्थित बनाउन ४९ वटा परीक्षा केन्द्र तोकिएको छ, जसमा ९५ सामुदायिक र ९३ निजी विद्यालय समेटिएका छन्।

गत वर्ष ४३ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष प्राविधिक धाराका लागि छुट्टै एउटा परीक्षा केन्द्रसहित ६ वटा थप गरिएको समन्वय इकाईले जनाएको छ।

परीक्षा केन्द्र निर्धारणमा भएको आर्थिक चलखेलले शिक्षाको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

TOP