बुधबारबाट पश्चिमी वायु फेरि प्रवेश गर्दै, वर्षा र हिमपातको सम्भावना

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो ।

मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो ।

आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझपख चिसो बढेको थियो ।

मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।

मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ ।

तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।

राजधानी काठमाडौँसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

TOP